काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि आफैंलाई आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ।
शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संवाद भइरहेको मृतकका भतिजा मन नेपालीले बताए। ‘विभिन्न विषयमा छलफल भइरहेको छ। तर कुनै निष्कर्षमा पुगेका छैनौं,’ उनले भने। सरकारबाट प्रस्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ। सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन्। गणेशका आमाबुबासहित छलफल भइरहेको छ।
बिहीबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो। गणेशको न्यायका लागि भन्दै शनिबार अस्पतालअगाडि सडकमा प्रदर्शनसमेत गरिएको छ। आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगेको छ।
वीर अस्पतालमा लामो समयसम्म शवलाई सुरक्षित राख्न आवश्यक पूर्वाधार नरहेको अस्पतालका डा. प्रकाश बुढाथोकीले जनाए। त्यसैले शवलाई शिक्षण अस्पतालको शवगृहमा सारिएको उनको भनाइ छ।
परिवारले शव नबुझेसम्म मुचुल्का र पोस्टमार्टमको प्रक्रिया अघि बढ्दैन। प्रधानमन्त्री कार्यालयले समेत परिवारसँग सहमति गर्न चासो देखाइरहेको छ। छलफलमा सहभागी काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले पनि परिवारसँग आफूहरूले कुरा गरिरहेको जनाए। ‘छिट्टै सहमति हुन्छ,’ उनले भने।
यसैबीच काठमाडौं महानगरपालिकाले भने गणेशका परिवारलाई सहयोग, रोजगारी र निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरिसकेको छ। परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र सन्ततिलाई निःशुल्क शिक्षा दिने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महानगरले यस्ता घटना दोहोरिन नदिन सरकारसँग समन्वय र सहकार्य गरेर आवश्यक उपाय पहिचान गर्ने र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजानेसमेत भनेको छ।
गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ। समितिका एक जना सदस्यका अनुसार गणेश बिहीबार बिहान करिब ११ बजे यात्रु पुर्याउन विभाग पुगेका थिए। २ नम्बर गेटअगाडि यात्रु ओरालेपछि अर्को ‘राइड रिक्वेस्ट’ पर्खिरहेका बेला एक महिला नगर प्रहरीले त्यहाँ मोटरसाइकल नरोक्न भनेकी थिइन्। त्यस क्रममा दुवैबीच वादविवाद भएको र केहीबेरपछि मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएको प्रहरीको निष्कर्ष छ।
कान्तिपुरलाई प्राप्त भिडियोमा महिला नगर प्रहरीले भनेको नमान्ने भन्दै गणेशसँग प्रश्न गरेको र मोबाइल खसेर फुटेको विषयमा समेत विवाद भएको देखिन्छ। गणेशले भने मोटरसाइकलमा चढेका बेला आफूमाथि अन्यायपूर्वक ह्विल लक लगाइएको गुनासो गरेका छन।
नेपाल प्रहरीको घटना दर्ता किताबमा दिउँसो १:४५ बजे ३ नम्बर गेटमा पार्किङ गरिएको मोटरसाइकलमा महानगरको टोलीले ह्विल लक लगाएपछि गणेशले आफ्नै शरीरमा आगो लगाएको उल्लेख छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ह्विल लक लगाइएको करिब दुई घण्टापछि उनले शरीरमा पेट्रोल खन्याएका थिए।
घटनापछि नगर प्रहरीका तीन जना कर्मचारीसँग जिल्ला प्रहरी परिसर, काठमाडौंले सोधपुछसमेत गरेको छ। त्यस क्रममा नगर प्रहरीका कर्मचारीले कागजात देखाएको भए जरिवाना तिराएर छाड्ने, तर अटेरी गरेपछि मोटरसाइकल नियन्त्रणमा लिन गाडी बोलाइएको बताएका छन्। कागजपत्र दिन नमानेपछि मोटरसाइकल लैजान गाडी बोलाइएको उनीहरूको भनाइ छ।
छानबिन समितिले त्यो सबै विवरण विभिन्न कोणका सीसीटीभी फुटेजमार्फत पुष्टि गर्ने प्रयास गरिरहेको छ। प्रारम्भिक जाँचमा नगर प्रहरीको गाडी मोटरसाइकल लिन आइपुगेपछि गणेश केही माथिबाट दौडिँदै आएर शरीरमा पेट्रोल छर्किएको जस्तो देखिएको समितिका एक अधिकृतले जनाए। नगर प्रहरीको गाडीछेउ पुगेर लाइटर बालेर आगो लगाएको सीसीटीभी फुटेजसमेत प्रहरीले संकलन गरिरहेको छ।
गणेश घाइते भएपछि प्रहरीले हिँडाउँदै लगेको भिडियोसमेत सार्वजनिक भएको छ, त्यसको आलोचनासमेत भएको छ। ‘घटना कसरी भयो? कति बेला के–के भयो? र, कसको कमजोरी रह्यो भन्ने सबै विषयमा जाँच गरेर यथाशीघ्र प्रतिवेदन बुझाउँछौं,’ समितिका प्रमुख डीआईजी थपलियाले कान्तिपुरसँग भने।
मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका उनी भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए। उनले तीन महिनाअघि मात्र मुगुको जग्गा धरौटीमा राखेर किस्ताबन्दीमा पल्सर मोटरसाइकल निकालेको बालाजु हाइटमा बस्दै आएका दाइ मदनले जनाए। ‘पढ्न त उसले कृषि, जेटीए पढेको थियो, तर गरिबलाई जागिर खाने अवस्था छैन,’ उनले भने, ‘मोटसाइकल किनेर पठाओ चलाइरहेको थियो, यस्तो भयो।’ आफू वीर अस्पतालमा पुगेका बेला भाइले आमाबुबाको ख्याल गर्नू भन्दै सबै नगर प्रहरीले गर्दा भएको बताएको उनको भनाइ छ।
काठमाडौंको बुद्धनगरमा शनिबार आफैंलाई आगो लगाएका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा ज्यान गएको छ। वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जनाए। बुद्धनगरस्थित आफ्नै घरको भान्सामा गएर आगो लगाएका उनको करिब ५० प्रतिशत शरीरको भाग जलिसकेको थियो।
सुपर वायर एन्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिव्यश्री ट्रेड कन्सर्नका सञ्चालकसमेत रहेका उनी सिरहाका स्थायी बासिन्दा हुन्। नुहाइधुवाइ गरेर श्राद्धको तयारी गरिरहेका बेला यो घटना भएको भाइ दीपक राउतले बताए। घरमा राउतसँगै उनका छोरा र श्रीमती बस्दै आएका थिए। घटना भएका बेला श्रीमती नुहाउन बाथरुममा छिरेकी थिइन्, छोरा घरबाहिर थिए।






























