काठमाडौं । रुकुम पश्चिमका तीन युवा अवैध ‘डंकी रुट’ हुँदै अमेरिका जान खोज्दा दुई वर्षदेखि बेपत्ता छन्। परिवारहरूले दलाललाई करोडौं रुपैयाँ बुझाए पनि सन्तानको अत्तोपत्तो नपाउँदा उनीहरू आर्थिक र मानसिक पीडामा छन्। राज्य संयन्त्र र प्रहरीको चासो अभावका कारण पीडित परिवार न्याय र छोराहरूको खोजीमा निराश छन्।
रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–७, खारखाराको घर परिमल खत्रीले भित्ताबाट बिस्तारै तस्बिर निकाले र मलिनो स्वरमा भने,” यही छोरो हो, दुई वर्षदेखि हराएको। २०८१ को दसैंमा त सँगै थियौं। त्यसपछि अमेरिका जाने भन्दै घरबाट हिँडेको, कता हरायो कता…, काँ गयो काँ। खै अहिलेसम्म फर्केकै छैन।’
यति भन्न नपाउँदै उनका आँखा टिलपिल–टिलपिल भए, गला अवरुद्ध भयो। र, शब्दहरू ओठमै थुनिए। केहीबेर कोठामा मौनता छायो। तातो आँसुलाई आँखाकै डिलमा रोक्ने असफल प्रयास गर्दै उनी सम्हालिए। र, दुई वर्षदेखि छातीभित्र गुम्स्याइराखेको पीडाको भारी बिस्तारै बिसाउन थाले, ‘मेरा दुई भाइ छोरा हुन्। दीपकचाहिँ जेठो, २९ वर्षको। कान्छो घरमै छ। दीपकले अमेरिका जाने सुरसार गरेको ४ वर्ष भयो। सुरुका दुई वर्ष कताकता पुग्दै, फर्किंदै गर्यो। वैशाख २०८१ मा घर आएर १० दिनजति बसेर गएको छोरो, त्यही सालको ८ असारदेखि सम्पर्कमै छैन।’
परिमलका छोरा दीपक मात्रै होइन, अवैध ‘डंकी रुट’ हुँदै अमेरिका हिँडेका आठबिसकोटका थप दुई युवा पनि दुई वर्षदेखि बेपत्ता छन्। अचेल यी तीनै परिवारको कथा–व्यथा साझा छ। उनीहरू दोहोरो मारमा छन्– एकातिर सन्तान हराएको लुकाउन नसकिने असह्य पीडा, अर्कोतिर दलाललाई बुझाएको लाखौं रुपैयाँ डुब्दा थपिएको ऋणको बोझ !
अमेरिकी सपनाको अवैध ‘डंकी रुट’ पछ्याउादा रुकुम पश्चिम, आठबिसकोटका तीन युवा दुई वर्षदेखि बेपत्ता छन्।परिमलका अनुसार, अमेरिकाको सपना देखाएर दलालले वैशाख २०७९ मै दीपकलाई काठमाडौं बोलाएको थियो। केही दिनको काठमाडौं बसाइपछि दुबई ओरालियो तर त्यहाँबाट फेरि नेपालै फर्काइयो।
त्यसपछि सुरु भयो दलालको नियन्त्रणमा दीपकको अन्त्यहीन र कष्टको भयानक यात्रा– कहिले भारतका गल्ली, कहिले दुबईका अँध्यारा कोठा ! दलालले उनलाई अनेक देश घुमाइरह्यो, फर्काइरह्यो। अमेरिका पुग्ने दीपकको यात्रा वर्षौंसम्म अन्योल, त्रास र आश्वासनकै चक्रमा घुमिरह्यो । ‘त्यो बेला छोराले कहिले कहाँ, कहिले कहाँ लग्यो भन्थ्यो, अब त सबै बिर्सियौं,’ परिमल भन्छन्, ‘जे होस्, ऊ सुरुका दुई वर्षमा तीनपल्ट घर आयो। अनि गएको वैशाख २०८१ मा यहाँबाट हिँडेको। त्यसपछि कता गयो, कता…।’
छोरा दीपकबारे प्रसंग निस्किँदा वा कुरा गर्दा वाक्य पूरा गर्नै सक्दैनन् परिमल। दीपकको परिवारमा छन्– ५५ वर्षे आमा, श्रीमती, दुई छोरा, बा र भाइ–बुहारी। दिदीबहिनीको विवाह भइसकेको छ । दीपकलाई अमेरिका पुर्याउने प्रयासस्वरूप परिवारले अहिलेसम्म एक करोडभन्दा बढी रुपैयाँ खर्च गरिसकेको छ।
त्यो खर्चको हिसाबकिताब यस्तो छ– दीपककी दिदी विमला ओलीका अनुसार, विभिन्न चरणमा ८२ लाख रुपैयाँ बुझाइयो दलाललाई। फरक–फरक देश आउजाउ गर्दा ३१ लाख रुपैयाँ थप खर्च भयो। भाइको खोजीमा ६ लाख रुपैयाँ सकियो। काठमाडौं बस्दाको ३ लाख त अझै तिर्नै बाँकी छ। सबै जोड्दा यस प्रकरणमा अहिलेसम्म कुल १ करोड २२ लाख रुपैयाँ खर्च भइसकेको छ।
१२ कक्षासम्म पढेका र मलेसियामा तीन वर्ष पसिना बगाएर घर फिरेका दीपक नेपालमै केही गर्ने सोचमा थिए। तर, समाजको नजर अन्तै थियो। छरछिमेक र साथीसंगी ‘डंकी’ काटेरै भए पनि अमेरिका पुगिरहेकै थिए। त्यो देखेर दिदी विमलाले नै दीपकलाई कर गरिन्, ढाडस दिइन्, ‘जा बाबु, हामी छौं साथ दिने।’ तर, आज त्यही वाक्य विमलाका लागि पश्चात्ताप र आँसु बनेको छ।
असार २०८१ मा लिबियाबाट अन्तिम पटक सम्पर्कमा आएका दीपक खत्री, गोपाल केसी र पहल केसी अहिलेसम्मै बेपत्ता हुँदा परिवार दोहोरो मारमा छन् ।यति भन्दै गर्दा ऋण र पीरले थाकेका बुबा–आमा फेरि निःशब्द बने। दीपककी दिदी विमलाले भने दलालविरुद्ध आक्रोश पोखिन्। ‘दलालकै धोकाधडीले भाइ बेपत्ता भएको’ भन्दै उनले दोषीमाथि कारबाहीको माग गरिन्।
दीपकलाई नेपालबाट दुबई पुर्याइएपछि उनको भेट आठबिसकोटकै गोपाल केसी र पहल केसीसँग भयो। त्यसपछि दलालले तीनै जनालाई एउटै समूहमा राखी ‘अमेरिका लैजान’ अघि बढ्यो। अन्ततः दुई वर्षअघि लिबियाबाट भएको अन्तिम सम्पर्कपछि तीनै जना एकैसाथ बेपत्ता भए। अहिले छोराहरूको खोजीमा तीनै परिवार लागेका छन्।
यसरी हराएका यी तीन छोरा दुई वर्षदेखि बेपत्ता भएको विषय घरपरिवार र आफन्तलाई थाहा छ तर प्रहरीले ‘यस विषयमा जानकारी नभएको’ जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी वेदबहादुर पौडेलले ‘तीन जनाको विषयमा कार्यालयमा कहीँकतै उजुरी नपरेको’ बताए। उनी भन्छन्, ‘कतैबाट उजुरी परे पो हामीले पनि अनुसन्धान अघि बढाउने हो त ! यस्ता घटना धेरै छन् भन्ने सुनेको छु। तर, ठ्याक्कै कारबाही वा अनुसन्धानका लागि कसैले पनि जाहेरी दिएका छैनन्।’































