सिन्धुपाल्चोक , ९ मंसिर
आफ्ना बाबुको चुनाव प्रचारका क्रममा सिन्धुपाल्चोकमा रहेकी देवयानी राणा माथि आक्रमण प्रयास भएको छ । चियाखान स्थानीय कार्यकताको घरमा जाने क्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी देवीयानी राणालाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरी आक्रमण प्रयास गरेका हुन् । देवीयानी चौतारा साँगा चोक गढी–७ कल्लेरी स्थित काँग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवरोध गरेका थिए । ‘चियाखाने निम्तो भएकाले आउँदै थिएँ । माओवादी साथीहरुले अवरोध गर्दै आक्रमण गर्न खोजेपछि चौतारा फर्किएँ’, उनले भनिन्, ‘अझै पनि गाउँ डुल्न, हिँड्न, मुस्किल रहेछ।’
स्थानीय मिरचौर बजार देखि नै करिव ४० वटा मोटरसाइकलले पछ्याएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए। मौन अवधि सुरु भएकाले बिना झन्डा र बिना सुरक्षाकर्मी उनी त्यसतर्फ गएकी थिइन्। माओवादी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि उनी दंगालको घर पुग्न पाइनन् । बीच बाटोबाटै फर्किइन । फर्किने क्रममा पनि माओवादी कार्यकर्ताले पिछा गर्न छोडेनन् । त्यसक्रममा मिरचौर बजार नजिक उनीहरुले राप्रपा प्रजातान्त्रिकका क्षेत्रीय सभापति महेन्द्र लामालाई आक्रमण गरेका छन् । उनी सामान्य घाइते भएको बताइएको छ । घटनाको विषयमा स्थानीय प्रशासनलाई जानकारी दिइएको उनले बताइन् । पार्टीसँग सल्लाह गरेर घटनाबारे प्रशासनमा उजुरी गर्ने तयारी भइरहेको देवयानीले बताएकी छिन् ।





























प्रतिक्रिया