अमेरिका । अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या सन् २०२६ सुरु भएयता निरन्तर घट्दो छ । जनवरी २०२५ देखि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेलगतै गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासन गर्ने नीति लिइएको थियो । ट्रम्प प्रशासनले कार्यान्वयनमा ल्याएको गैरकानुनी आप्रवासी नीतिको मारमा नेपालीसमेत परेका थिए ।
होमल्याण्ड सेक्युरिटीको तथ्यांकअनुसार २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिना अवधिमा ३ सय ४३ जना नेपाली अमेरिकाबाट निष्कासित भएका छन् । जसमा, जनवरीमा १ सय १, फेब्रुअरीमा १ सय ३०, मार्चमा ४३, अप्रिलमा ४५, मेमा १५ र जुनमा ९ जना रहेका छन् । तथ्यांकले अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या निरन्तर घट्दो क्रममा रहेको देखाएको छ ।
‘डंकी रुट’बाट अमेरिका प्रवेश गरेका, कागजातविहिन र विभिन्न कारणले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली निष्कासितमा परेका हुन् । अध्यागमन सम्बन्धि नियामक निकाय यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार पछिल्ला महिनामा निष्कासित हुने नेपालीको संख्या घट्दो क्रममा रहेको छ ।
अमेरिकी सरकारले आप्रवासी नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न यूएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले २०२५ भित्र १ हजार ३ सय ६५ जना नेपालीलाई अमेरिकाबाट निष्कासन गर्ने सूचीमा राखेको थियो । तीमध्ये ४ सय ८४ जना निष्कासनमा परेका हुन् । जबकी ट्रम्पको दोस्रो कार्यकाल अघिका ६ वर्षमा मात्र ३ सय ८९ जना नेपाली निष्कासनमा परेका थिए ।
सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ जना नेपालीलाई अमेरिकाबाट निष्कासन गरिएको थियो । होमल्याण्ड सेक्युरिटीले जारी गरेको प्रतिवेदन अनुसार, ११ राष्ट्रका २० लाख भन्दा बढीले स्वतः स्फूर्त अमेरिका छाड्को छन् ।
विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न रहेको आधारमा आइसले ‘खराब मध्येका अति खराब’को रुपमा तोकेका ६ लाख २२ हजार गैरकानुनी आप्रवासीलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको प्रतिवेदनमा उल्लेख छ ।






























