पेरुमा जन्मिएका सयौँ नवजात शिशुको नाम हालान्ड राखेपछि…

पेरुमा जन्मिएका सयौँ नवजात शिशुको नाम हालान्ड राखेपछि…

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । विश्वकप फुटबलकाे राैनकका बीच पेरुका सयौँ फुटबल प्रेमीहरूले आफ्ना नवजात शिशुहरूको नाम नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डको नामबाट राखेका छन्। पेरुको राष्ट्रिय परिचयपत्र दर्ता कार्यालयले यसको आधिकारिक पुष्टि गरेको हो।

विश्व फुटबलको महाकुम्भ, सन् २०२६ को विश्वकपमा नर्वेका गोल मेसिन हालान्डको लोकप्रियताको ग्राफ निकै माथि पुगेको छ । जारी विश्वकपमा ७ गाेल गरेका यी २५ वर्षीय फुटबलरकाे उत्कृष्ट योगदानका कारण नर्वेले पाँच पटककाे विजेता ब्राजिललाई ऐतिहासिक पराजय चखाउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । तर क्वाटरफाइनलमा इंग्ल्याण्डसँगकाे हार पछि नर्वे बाहिरिएकाे छ ।

हालान्डको यही लोभलाग्दो प्रदर्शनबाट प्रभावित भएर पेरुका अभिभावकहरूले आफ्ना सन्तानको नाम उनकै नाममा राख्न थालेका हुन्। दर्ता कार्यालयका अनुसार हालसम्म ४६८ जना शिशुको नाम हालान्डको थरबाट राखिएको छ भने ९१ जना शिशुको पूरा नाम नै ‘अर्लिङ हालान्ड’ दर्ता गरिएको छ।

दर्ता कार्यालयका प्रवक्ता इभान टोरेसले ठट्टा गर्दै भनेका छन्, “अहिलेको माहौल हेर्दा त हालान्ड आफैँ पनि पेरुभियन हुन् जस्तो देखिन्छ।”

पेरुमा नवजात शिशुको नाम फुटबल खेलाडीको नामबाट राखिएको यो पहिलो पटक भने होइन। यसअघि पेरुमा ३,४०२ जनाको नाम अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नाममा राखिएको छ, जसमध्ये २९२ जनाको पूरा नाम नै ‘लियोनेल मेस्सी’ छ। त्यसैगरी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नामबाट १,१८५ जना र स्पेनका उदीयमान खेलाडी लामिन यमालको नामबाट १,२४१ जनाको नाम ‘यमाल’ राखिएको छ। यो सूचीमा सबैभन्दा अगाडि ब्राजिलका नेयमार छन्, जसको नामबाट पेरुमा कुल ३३,८०९ जनाको नामकरण गरिएको छ।

Logo