काठमाडौं । काठमाडौँस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी (आईएसएमटी) कलेजको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। होटल याक एण्ड यतीमा आयोजना गरिएको उक्त विशेष समारोहमा विभिन्न संकायका कुल ४१५ जना विद्यार्थीहरू दीक्षित भएका छन्।
कलेजका अनुसार उक्त समारोहमा नबिल बैंक लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा उपस्थित थिए । समारोहमा सन्डरल्याण्ड विश्वविद्यालय का उच्च तहका प्रतिनिधिहरू तथा अभिभावकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। यस वर्ष बीबीए, बीएचएम, बीएससीआईटी र एमबीए तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको कलेजले जनाएको छ।
समारोहका दौरान उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सन्डरल्याण्ड विश्वविद्यालयले विशेष अवार्ड प्रदान गरेको थियो । यसका साथै, आईएसएमटी ग्रुपले आफ्नो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई ग्रुप अन्तर्गतका क्याम्पसहरूमा स्नाकोत्तर तहमा अध्ययन गर्नका लागि शतप्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराएको छ।
आईएसएमटी ग्रुपले हाल काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्याण्ड विश्वविद्यालयकै सम्बन्धनमा कलेजहरू सञ्चालन गर्दै आइरहेको छ। यी क्याम्पसहरूमा बीबीए, बीएचएम, बीएससी आईटी, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, एमबीए र एमएससी कम्प्युटिङजस्ता उच्च स्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालन भइरहेको कलेजका बिजनेस डेभलपमेन्ट हेड बासुदेव वस्तीले जानकारी दिएका छन् ।






























