काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरूबीच संयुक्त छलफल भएको छ।
रास्वपा केन्द्रीय कार्यालयमा भएको उक्त छलफलमा पार्टीका महामन्त्री विपिन कुमार आचार्यसँग व्यवसायीहरूले नियमावलीका प्रावधानबारे संवाद गरेका हुन्।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा विभिन्न १४ वटा शैक्षिक परामर्शसम्बन्धी संघ–संस्थाका प्रतिनिधिहरूका साथै ‘फ्री कन्सल्टेन्ट ग्रुप’का प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा व्यवसायीहरूको संयुक्त तर्फबाट महामन्त्री आचार्यलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ।
ज्ञापनपत्र बुझ्दै महामन्त्री आचार्यले व्यवसायीहरूद्वारा उठाइएका विषयहरूलाई गम्भीर रूपमा अध्ययन गर्ने बताएका छन् । साथै, यस सम्बन्धमा पार्टीका सभापतिसँग आवश्यक छलफल गरी आगामी दिनमा गर्नुपर्ने समन्वय र संवादका लागि पार्टीका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
शैक्षिक परामर्श क्षेत्रका प्रतिनिधिहरूले यस विषयमा हुने आगामी प्रगति र विकासक्रमबारे समयानुकूल जानकारी गराउँदै जाने बताएका छन्।






























