अध्ययन बिदा दुरुपयोग गर्ने ६२ जना प्राध्यापक कर्मचारीले १३ करोड रकम फिर्ता गरे

अध्ययन बिदा दुरुपयोग गर्ने ६२ जना प्राध्यापक कर्मचारीले १३ करोड रकम फिर्ता गरे

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा दुरुपयोग गरेर नफर्केका प्राध्यापकहरूले रकम फिर्ता गर्न चासो देखाएका छैनन्। त्रिविले दुई पटकसम्म अध्ययन बिदा उपभोग गरेपश्चात् नियमअनुसार सेवामा नफर्केका प्राध्यापक, कर्मचारीलाई सम्पर्कमा आउन सूचित गरेको थियो।

एक वर्षको अवधिमा ६२ जना मात्रै सम्पर्कमा आएर रकम फिर्ता गरेका छन्। अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका प्रमुख सहप्राध्यापक जीवन काफ्लेले उनीहरूबाट १३ करोड ४८ लाख रुपैयाँ असुलउपर गरिएको जनाए।

काफ्ले संयोजकत्वको अध्ययन समितिले गत वर्ष १ सय ९१ जनाभन्दा बढी शिक्षक–कर्मचारी अध्ययन बिदा लिएर विश्वविद्यालयमा नफर्केको फेला पारेको थियो। २ सयभन्दा बढीले अध्ययन बिदा लिए पनि पढाइ पूरा नगरेको पाइएको थियो। त्रिविले अध्ययन बिदा दुरुपयोग गरी सेवामा नफर्केका र प्रमाणपत्र पेस नगरेका प्राध्यापक, कर्मचारीबाट रकम असुल गर्ने घोषणा गरेको थियो।

पहिलो पटक असार २०८२ मा आर्थिक सुविधासहित अध्ययन बिदामा गएर नफर्केका प्राध्यापकलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको थियो। तर सम्पर्कमा आउन र रकम फिर्ता गर्न चासो नदिएपछि ३ असार २०८३ मा पनि समितिले पुनः अर्को सूचना जारी गरेको थियो। सूचनामा नियमअनुसार सेवामा नफर्केका र फर्किएर पूरा अवधि सेवा नगर्नेहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन ताकेता गरिएको थियो। तोकिएको अवधिमा नआए कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिविले दिएको छ।

समितिले यस अवधिमा ६२ जना सम्पर्कमा आएर रकम फिर्ता गरेको १ सय १२ जनाले आवेदन दिएको जनाएको छ। ‘सम्पर्कमा पनि नआउने, रकम पनि फिर्ता नगर्नेलाई पत्राचार गरेका छौं,’ काफ्लेले भने। त्रिवि स्रोतका अनुसार अध्ययन बिदा लिएर विदेश गएपछि नफर्कने शिक्षक, कर्मचारीको संख्या भने थपिएर साढे २ सयभन्दा बढी पुगिसकेको जनाएको छ।

अध्ययन बिदा दुरुपयोग गरी नफर्कने त्रिविका प्राध्यापकलाई कारबाही गर्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले समेत चासो देखाएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूलाई कबुलियतनामाअनुसार चाँडो रकम फिर्ता गराउन त्रिविलाई निर्देशनसमेत दिएका थिए। मन्त्री पोखरेलको एक सय दिनको उपलब्धिमा १३ करोडभन्दा बढी रकम असुल हुनुपर्ने समावेश गरिएको छ।

त्रिविका उपप्राध्यापक, सहप्राध्यापक, प्राध्यापक र कर्मचारीले मासिक तलब सुविधासहित अध्ययन बिदा पाउने व्यवस्था छ। उक्त बिदा लिएपछि सेवामा फर्कनुपर्ने बाध्यकारी नियम छ। तर बिदा लिएका प्राध्यापक, कर्मचारी नफर्केपछि त्रिविले खोजी र रकम असुली प्रक्रिया थालेको हो। मासिक तलब सुविधासहित अध्ययन बिदा लिए पनि पढाइ पूरा नगर्ने र पूरा गरे पनि विदेशमै लुकेर बस्ने कारणले विश्वविद्यालयलाई डेढ अर्बभन्दा बढी नोक्सान भएको अनुमान छ।

रकम असुलीका लागि त्रिविले एक वर्षदेखि अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिको कार्यालय नै स्थापना गरी काम अघि बढाएको छ। समितिले सार्वजनिक सूचनामार्फत अध्ययन बिदामा बस्दा लिएको पारिश्रमिक ब्याजसहित विश्वविद्यालयको बैंक खातामा जम्मा गर्न ताकेता गरेको थियो। व्यक्तिगत गोपनीयताका लागि भन्दै त्रिविले छानबिन प्रतिवेदन र बिदा दुरुपयोग गर्नेहरूको नाम गोप्य राखेर रकम फिर्ता गर्न आग्रह गर्दै आएको छ।

त्रिवि शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियममा ३ देखि ५ वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ। उक्त सुविधा उपयोग गरी अध्ययन पूरा नगर्ने, अध्ययन बिदा उपयोग गरेर रकम लिए पनि भर्ना नै नहुने, अन्यत्र काम गर्ने, विदेश जानेहरू उतै लुकेर बस्ने प्रवृत्ति बढेपछि छानबिन गरेको थियो। त्रिवि कार्यकारी परिषद्ले अध्ययन बिदा लिने शिक्षक तथा कर्मचारी खोजबिन गर्न माघ २०८१ मा समिति गठन गरेको थियो।

अध्ययन बिदा लिएर विश्वविद्यालय नफर्कनेमा सबैभन्दा बढी इन्जिनियरिङ अध्ययन संस्थानका ६२ जना छन्। त्यस्तै विज्ञान संकायका ५६, मानविकी संकायका ३० जना, वन विज्ञानका १७, कृषि तथा पशु विज्ञानका ११ जना छन्। अध्ययन बिदा लिए पनि पूरा गरेको प्रमाणपत्र पेस नगर्ने सबैभन्दा धेरै मानविकी संकायका ८४ जना छन्। विज्ञान संकायका ५०, इन्जिनियरिङका ३७, व्यवस्थापनका १७, कृषि तथा पशु विज्ञानका ११ जनाले पनि प्रमाणपत्र बुझाएका छैनन्। अध्ययन बिदामा बस्दा उनीहरूले प्रतिव्यक्ति ३० देखि ४० लाखसम्म तलब सुविधा लिएको त्रिविले जनाएको छ।

Logo