लमजुङ ,८, मंशिर
लमजुङमा पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । आवश्यक निर्वाचन सामग्री सहित मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीका साथमा मतदान स्थलमा पठाइएको हो । जिल्लामा एक हजार २ सय ६६ जना कर्मचारी चुनावका लागि खटिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए । उनका अनुसार उनीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानकार्यमा चाहिने ६४ प्रकारका सामग्री, नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका दिएर खटाइएको हो ।
जसमा मतदानका लागि मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, मसी, मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्ने लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैंची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो धागो लगायतका निर्वाचन सामग्री छन् । साथमा बोरा सिलाउन सियो, नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, टर्च लाइट, झोला, प्राथमिक उपचारका सामान र औषधी, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसी लगायत मतदान केन्द्रमा पठाइएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया