काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) र ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) बैठक मंगलबार र बुधबार पोखरामा बस्दैछ ।
मंगलबार नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) बैठक बस्नेछ भने बुधबार ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) बैठक बस्नेछ ।
उक्त बैठकमा नेपाल-भारतबीच रहेका प्रसारणलाइनहरुबारे छलफल हुनेछ । सञ्चालनमा आइसकेका, निर्माणाधिन र प्रस्तावित प्रसारणलाइनबारे बैठकमा छलफल हुने ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।
प्रसारणलाइनसँगै विद्युत् व्यापारको पनि छलफल हुनेछ । भारतमा थप बिजुली व्यापार, स्वीकृतिलगायतका विषयदेखि बंगलादेशलाई थप २० मेगावाट बिजुली बिक्री गर्न आवश्यक भारतको स्वीकृतिबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
भारतीय लगानी रहेका आयोजनाहरु, वैकल्पिक ऊर्जालगायतका विषयमा दुई पक्षबीच छलफल हुनेछ । साथै भविष्यमा दुई पक्षबीच हुन सक्ने सहकार्यका विषयमा पनि छलफल हुने बताइएको छ ।
सन २०१४ मा सम्पन्न नेपाल–भारत विद्युत् व्यापार सम्झौताअनुसार कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन र प्रगतिको अनुगमन गर्न सचिवस्तरीय (जेएससी) र सहसचिवस्तरीय कार्यदल (जेडब्ल्यूजी) गठन गरिएको छ । प्रत्येक ६/६ महिनामा बैठक बस्नुपर्ने व्यवस्था छ । २०८० पुस १८ मा सहसचिवस्तरीय र पुस २० मा चितवनमा ऊर्जासचिवस्तरीय बैठक बसेको थियो । त्यसपछि ९ र २९ माघ २०८१ मा नयाँ दिल्लीमा बसेको थियो । त्यसयता दुवै पक्षको सहमति नजुट्दा बैठक बस्न सकेको थिएन ।






























