वस्तीमा बाढी पस्यो, गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित

वस्तीमा बाढी पस्यो, गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा डुबान हुँदा ३५ जना विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित भएकाहरु आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् ।

स्थानीयका अनुसार भृकुटीचोक, बेल्डिहा, प्रगति टोल, झापर्दी टोल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब १० बजे गैँडाकोट नगरपालिका–४ मा जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पसेको थियो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा २० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्मको टोली उद्धारमा खटिएको थियो ।

सो ठाउँबाट ९ घरका ३५ जना सदस्यलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय तथा चौपायाको क्षति भने भएको छैन । प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार राति करिब ११ बजे गैँडाकोट नगरपालिका–१५ मा पनि वर्षाको पानी र नालीको बहाव घरमा पस्दा वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरको तल्लो तलामा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ ।

सोही स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी बाढी पस्दा लत्ताकपडा भिजेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् । सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ ।

घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् ।

Logo