काठमाडौँ । सरकारले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरेर देशको नाम उच्च राख्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकहरूलाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेल क्षेत्र र खेलाडीको मनोबल बढाउन सरकारले यो कदम चालेको जानकारी दिए । उनका अनुसार खेलाडीहरूले आफ्नै खर्चमा समेत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको अवस्थालाई मध्यनजर गर्दै सरकारले उचित मूल्याङ्कन गरी नगद पुरस्कार तथा सम्मानको व्यवस्था गरेको हो।
यसैगरी बैठकले अर्को महत्त्वपूर्ण निर्णय गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगहरूको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजाने जिम्मेवारी गृह मन्त्रालयलाई सुम्पेको छ । मिटरब्याजी पीडितहरूलाई न्याय दिलाउन र विगतका प्रतिवेदनहरूका सुझावलाई प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालयले तत्कालै काम अघि बढाउने प्रवक्ता पोखरेलले बताए ।






























