न्यू समिट कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

न्यू समिट कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

केन्द्रबिन्दु
423
Shares

काठमाडौँ । न्यू समिट कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक भव्य समारोहबीच स्वागत गरेको छ।

मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रममा कलेज परिवार, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि कलेजका चेयरमेन एवं‌ त्रिविका एसोसिएट प्रोफेसर अजय ढकालले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका एकेडेमिक डाइरेक्टर तीर्थराज घिमिरेले केवल शैक्षिक उपलब्धि हासिल गर्नु मात्र नभई असल चरित्रको नागरिक बन्नु नै शिक्षाको वास्तविक लक्ष्य हुनुपर्नेमा जोड दिए ।

उनले भने, “केही समयअघि सडकमा भएको आत्मदाहको दुःखद घटनामा कसैले टिकटक भिडियो बनाइरहेका थिए त कसैले आगो निभाउने प्रयास गरिरहेका थिए। हाम्रा विद्यार्थीहरू भिडियो बनाउने होइन, आगो निभाएर सहयोगी भाव प्रदर्शन गर्ने सच्चा मानव बन्नुपर्छ।”

उनले न्यू समिट कलेजमा पूर्णकालिक र अब्बल शिक्षकहरूको टिम रहेको हुँदा विद्यार्थीहरूको भविष्य सुरक्षित र सक्षम हातमा आइपुगेको दाबी गरे ।

कलेजका चेयरमेन एवं‌ त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर अजय प्रसाद ढकालले विद्यार्थीहरूलाई निरन्तर आत्म-विकासको मार्गमा अघि बढ्न सुझाव दिए । उनले भने, “हिजोको आफूभन्दा आजको आफू र भोलिको आफूलाई अझै राम्रो बनाउने प्रयास गर्नुहोस्।”

प्रोफेसर ढकालले कलेजले अवलम्बन गरेको ‘४ डी’ (अनुशासन,समर्पण, दृढ संकल्प र विकास)को अवधारणालाई पछ्याउँदै विद्यार्थीहरूलाई ज्ञानका साथै सीप र सकारात्मक मनोवृत्तिमा पारंगत बनाउने विश्वास व्यक्त गरे ।

कलेजका प्रिन्सिपल चोकराज दवाडीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कलेजले सधैं केन्द्रित प्रयास गरिरहेको बताए । “हामी केवल किताबी ज्ञानमा मात्र सीमित छैनौँ, पढाइसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा हाम्रो विशेष ध्यान छ,” प्रिन्सिपल दवाडीले भने ।

आफ्नो कलेजले धेरै संख्यामा डाक्टर, इन्जिनियर र वकिलहरू उत्पादन गर्न सफल भएकोमा गर्व व्यक्त गर्दै उनले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका लागि पोषणविद्को रेखदेखमा दैनिक चार पटक स्वास्थ्यमैत्री भोजनको व्यवस्था कलेजले गर्दै आएको जानकारी दिए ।

कलेजका अर्का एकेडेमिक डाइरेक्टर प्रवेश ढुंगानाले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न उत्प्रेरित गर्दै भने, “अरूसँग होइन, आफैंसँग प्रतिस्पर्धा गरेर अघि बढ्नुहोस्।”

न्यू समिट कलेज नेपालकै पहिलो ‘बीएससी सीएसआईटी’ कलेज भएको गौरव साझा गर्दै उनले यस संस्थाबाट धेरै विद्यार्थीहरू बोर्ड टपर भइसकेको स्मरण गराए । उनले प्लस-टु (११ र १२ कक्षा) को शिक्षा करिअर निर्माणको जग अर्थात् कोसेढुङ्गा भएको बताउँदै यी दुई वर्षमा सही दिशा तय गर्न विद्यार्थीहरूले अनिवार्य रूपमा एक पटक करिअर काउन्सिलिङ लिनुपर्नेमा जोड दिए ।

औपचारिक सत्रको समापनपछि कार्यक्रम सांगीतिक माहोलमा परिणत भएको थियो। नेपाली लोकपप क्षेत्रका सदाबहार गायक रामचन्द्र काफ्लेले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर हलमा उपस्थित सबैलाई नचाएका थिए। गायक काफ्लेको प्रस्तुतिसँगै कलेजका पुराना तथा नयाँ विद्यार्थीहरूले समेत विभिन्न विधामा आकर्षक नृत्य तथा गीतहरू प्रस्तुत गरी कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए।

Logo