‘एनाकोन्डा’ को जस्तै स्पेनको पकडले विश्कपको फाइनल

‘एनाकोन्डा’ को जस्तै स्पेनको पकडले विश्कपको फाइनल

केन्द्रबिन्दु
0
Shares

डालास । स्पेनले विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा बुधबार फ्रान्सलाई निस्सासिने गरेर निमोठ्दै २–० को सानदार जित निकालेर फाइनल यात्रा तय गरेको छ।

अब स्पेनसामु सन् २०१२ यता पहिलो पटक विश्वकप उपाधि जित्ने अवसर हुनेछ। खेलमाथि स्पेनको पूर्ण प्रभुत्व रह्यो। यसै कारण प्रतियोगितामै सबैभन्दा बढी आक्रामक रहेको टिम फ्रान्सले चल्ने अवसर पनि पाएन। खेल सुरु भएको ह्विसल बज्ने बित्तिकै स्पेनले फ्रान्सलाई ‘एनाकोन्डा’ ले जस्तै कसेर आफ्नो पकडमा राखेको थियो।

यस्तो प्रत्येक पास र बलमाथिको नियन्त्रण स्पेनको हातमा रह्यो। फ्रान्सको आक्रमण पूरा प्रतियोगितामै सबैभन्दा धारिलो मानिएको थियो, टोलीले त्यस अगाडिका ६ खेलमा १६ गोल गरेको थियो, तर यही आक्रमण स्पनेविरुद्ध कमजोर साबित भयो।

मिकेल ओयारजाबल र पेड्रो पोरोले स्पेनका लागि गोल गरे। तर दुई गोलको जितले खेलमाथि स्पेनको नियन्त्रण कति धेरै थियो, त्यो भने देखाउने छैन। युरोपेली च्याम्पियन पनि रहेको स्पेनले बलमाथि पूर्ण एकपक्षीय नियन्त्रण राखेको थियो, खेलको गति पनि आफूअनुकूल राखेको थियो। यस्तोमा फ्रान्सले आहा भन्न लायक आक्रमण बुन्न पनि संघर्ष गर्नुपर्‍यो।

खेलपछि पेड्रोले भने, ‘यो त सपना पूरा भएको स्थिति हो। इमान्दारितापूर्वक भन्दा खेल यस्तो प्रकारले हाम्रो पक्षमा हुनेछ भनेर सोचेको पनि थिइनँ। यस्तो त सपनामै पनि सोचिन्न। हाम्रो खेलमा सबथोक राम्रो भयो। हामीले यस विश्वकपमै सबैभन्दा राम्रो खेलिरहेको टिमलाई हराएका छौ।’

स्पेनसामु एकैपल्ट दोस्रो अवसरमा युरोसँगै विश्वकप जित्ने अवसर हुनेछ। खेलमा दोस्रो गोल गर्ने पोरोले खेलपछि प्रतिक्रिया दिए, ‘हाम्रो खेलको प्रमुख पक्ष भनेकै बलमाथि अत्यधिक नियन्त्रण हो। फ्रान्सेली टिम आफैंमा राम्रो छ। उसका खेलाडी कोहीभन्दा कम छैनन्। तर हाम्रो प्रदर्शन त्यसभन्दा पनि उच्च रह्यो। मलाई लाग्छ, यो जित हामी सबै २६ खेलाडीकै हो।’

स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे पनि उत्तिकै खुसी रहे। उनले भने, ‘हामीले त्यस्तो टिमको सामना गरेका थियौं, जसलाई अझै पनि विश्व फुटबलको सबैभन्दा उत्कृष्ट भन्न मिल्छ। तर उनीहरूसामु पनि उत्तिकै बलियो टिम रहेको बिर्सनुहुँदैन थियो। मेरो विचारमा यो खेलको मूल अन्तर भनेको यही रह्यो।’ स्पेनले उनकै नेतृत्वमा सन् २०२३ मा नेसन्स लिग र सन् २०२४ मा युरो उपाधि जितेको थियो।

यस जितले महत्त्वपूर्ण मोडमा फ्रान्समाथि स्पेनको हाबी कायम रह्यो। फ्रान्सलाई लगातार तेस्रो विश्वकप फाइनल जानबाट रोक्न स्पेनले यही टिमविरुद्ध लगातार तेस्रो जित निकाल्यो। सन् २०२४ को युरो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो। यस्तै स्पेनले गत वर्ष नेसन्स लिगको सेमिफाइनलमा पनि फ्रान्समाथि ५–४ को जित निकालेको थियो।

युवा खेलाडी लामिन यामलले मौका देखे र अगाडि बढिहाले। फ्रान्सेली डिफेन्डर लुकास डिग्ने बल ‘क्लियर’ गर्ने प्रयासमा थिए, यसैक्रममा अनौठो तरीकाले हेड गर्ने प्रयास गरे, आफ्नै पेनाल्टी एरियामा। उनले यामल अगाडि बढिरहेको पनि देखेनन् र बल प्रहार गर्ने प्रयास गरे। यही प्रहार यामलको शरीरमा लाग्यो र स्पेनले पेनाल्टीको अवसर पायो। त्यसमै स्पेन अग्रता लिन सफल रह्यो।

यसपल्टको विश्वकपमा यामलले एकै गोल मात्र गरेका छन् तर उनको टिम भने फाइनल पुगेको छ। स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे मान्छन्, गोल नै सबथोक होइन, यामलको प्रदर्शन अझै उत्कृष्ट छ। यिनै बार्सिलोना स्टारले खेलको अघिल्ला दिने १९ औं जन्मदिन मनाएका थिए। यति कलिलो उमेरमै पनि उनको प्रदर्शन विश्वकप जत्तिको प्रतियोगितामा पनि परिपक्व जस्तै रह्यो।

डे ला फुन्टेले थपे, ‘टिमको समग्र प्रदर्शन नै राम्रो रह्यो।’ उनका लागि कोही स्टार खेलाडीभन्दा टिम पहिलो भन्ने नीति थियो। त्यसैले पेनाल्टी प्रहार गर्ने खेलाडी रहे, मिकेल ओयारजाबल। यो उनको प्रतियोगितामा पाँचौं गोल रह्यो। पछि ओयारजाबलले भने, ‘सबैलाई थाहा छ, टिमका लागि महत्त्वपूर्ण के हो भनेर। अन्यमा सबै खेलाडीले योगदान दिएर खेल जित्न भने के चाहियो र?’

फ्रान्समाथिको जितसँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अपराजित यात्रा ३७ खेलमा पुर्‍याएको छ। यो इटालीको कीर्तिमानसँग बराबरी हो। अब फाइनलमा स्पेनसामु यो अपराजित प्रदर्शनको कीर्तिमानमा सुधार गर्ने अवसर हुनेछ। यामलले स्पेनका लागि खेलेयता अहिलेसम्म कुनै पनि खेलमा हारको सामना गर्नुपरेको छैन। उनले स्पेनका लागि १२ खेलमा सुरुदेखि खेल्ने अवसर पाएका छन्।

विश्वकप र युरोका सबै खेलमा स्पेन विजयी छ। यस्तोमा यामल हुँदा स्पेनको प्रदर्शन शतप्रतिशत रहने गरेको छ। विश्व फुटबलका यी दुई ठूला प्रतियोगितामा कुनै पनि टिमका लागि एक खेलाडीको यो उच्च प्रदर्शन हो। यस्तै स्पेन विश्वकपको एकै संस्करणमा ६ खेलमा क्लिन सिट राख्ने पहिलो टिम भएको छ। फ्रान्सविरुद्ध पनि स्पेनले कुनै गोल खाएन र रक्षापंक्तिबाट बेजोड प्रदर्शन कायम राख्यो। रोयटर्स

Logo