काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राजनीतिक भेटघाट पनि सुरू गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र जनजीविकाका सवालमा झन्डै एक घण्टा संवाद भएको छ । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं सांसद खुश्बु ओली सहभागी थिए ।
छलफलका क्रममा राप्रपा नेताहरूले किसानले मल नपाएको, सुकुम्वासी व्यवस्थापनमा ढिलाइ भएको र स्वास्थ्य बीमाका कारण जनताले सास्ती भोग्नुपरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री शाहले मल आयात भइरहेको र स्वास्थ्य बीमाको बेथिति सुधारेर छिट्टै प्रभावकारी रूपमा पुनः लागू गर्ने तयारी भइरहेको आश्वासन दिए । साथै, सुकुम्वासी व्यवस्थापनका क्रममा कीर्तिपुरबाहेक अन्य होल्डिङ सेन्टरमा समस्या नरहेको उल्लेख गर्दै उनले समग्र सुकुम्वासीकै माग सम्बोधन गर्ने गरी सरकार अघि बढेको स्पष्ट पारे ।
संविधान संशोधनको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले असिम शाह नेतृत्वको टोलीले बहस पत्र मात्र तयार पार्ने भइरहेकाे र कुनै निश्चित समूहका लागि नभई सबै जनताको गुनासो सम्बोधन हुने गरी संविधान संशोधन गरिने बताएका थिए ।































