काठमाडौं ,६,मंशिर
विशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग एक/एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ । न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले महत र ढकाललाई एक/एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर हिजो डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार महत र ढकाललाई थुनछेक आदेश सहित एक/एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेश अनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् ।
तत्कालीन कर फछ्र्योट आयोग मार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबार देखि सुनुवाइ सुरु भएको थियो । अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा सहित तीनै पदाधिकारी विरुद्ध अनियमितता गरेको आरोपमा १० अर्बको विगो माग दाबी सहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो । शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो । अख्तियारले कर फछ्र्योट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए ।
रासस





























प्रतिक्रिया