विराटनगर । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ ।
असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् ।
मन्त्री लिंथेपले जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन तथा त्यसबाट सिर्जित प्रशासनिक अवरोधका कारण बजेट कार्यान्वयन प्रभावित भए पनि प्रदेश सरकारले ७० प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको खर्च अघिल्ला वर्षको तुलनामा केही कम भए पनि देशका अन्य प्रदेशसँग तुलना गर्दा कोशी प्रदेशको बजेट कार्यान्वयन सन्तोषजनक रहेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक विवरणअनुसार आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन गरिएको ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँमध्ये २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ७२.७२ प्रतिशत हो ।
मन्त्री लिंथेपले नयाँ आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै विकास आयोजनाको गति बढाउने, पूँजीगत खर्च सुधार गर्ने तथा प्रदेशको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने गरी सरकार अघि बढ्ने बताए ।































