रमेश गिरी । भक्तपुर, ३ मंसिर ।
नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा (एमाले) का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग मत माग्ने गरेको छ ।
काँग्रेस र एमालेले बिहान ७ बजेदेखि हरेक दिन चुनाव चिह्नसहितको झण्डा बोकेर गलाभरी माला लगाएर घरदैलो गरिरहँदा नेमकिपाले जनतालाई राजनीतिक व्यवस्थाका बारेमा जानकारी दिँदैछ ।
नेमकिपाबाट निर्वाचन क्षेत्र नं २ प्रदेश (क) सूर्यविनायक प्रदेशमा प्रदेशसभासद् उम्मेदवार सरोजराज गोसाईंले गाउँ टोलमा बिहान र बेलुकी कार्यकर्ता र सर्वसाधारण भेला गरी निर्वाचनमा पार्टीले उठाउँदै आएको विषयमा जानकारी दिने गरेको बताए ।
भक्तपुर क्षेत्र नं १ र २ का नेमकिपाका प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारले दैनिक आफ्ना निर्वाचन क्षेत्रमा खटिएर समाजवाद र पूँजीवादबीचको फरक, समाजवादले देशमा गर्ने उन्नति र अब गठन हुने प्रतिनिधि तथा प्रदेशसभाबारे जानकारी दिने गरेका छन् । जनतामाझ जाँदा संघीय , प्रदेश र स्थानीय सरकारबारे जनतालाई जानकारी नै नभएको पाइएको बताउँदै यसबारे मतदातालाई शिक्षित बनाइएको गोसाईंले बताए ।
निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशका उम्मेदवार सुरेन्द्रराज गोसाईंले मतदातालाई समाजवादमा निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुने, उत्पादनका साधनको सामाजिकीकरण हुनेलगायत बारेमा जानकारी दिने गरेको बताए ।
क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापा मगरले मतदाताको भेलामा नेमकिपाले भ्रष्टाचारी र चेलीबेटी बेचबिखनकर्तालाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएको जानकारी दिने गरेको बताइन् । उनले भनिन्, “हामीले पुँजीवाद के हो र कसरी शोषण हुन्छ भन्ने बारेमा मतदातालाई जानकारी गरायौँ ।”
नेमकिपाले इमान्दारीपूर्वक विकास निर्माणका काम गरेको उदाहरण दिँदै उनले जाली एवं ठगलाई मतदानका माध्यमबाट जवाफ दिनका लागि नेमकिपालाई मतदान गर्न आग्रह गरिएको उल्लेख गरिन् ।
नेमकिपाबाट भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभातर्फ प्रेम सुवाल तथा प्रदेशसभा ‘क’मा नीरज लवजु र ‘ख’मा सुरेन्द्रराज र निर्वाचन क्षेत्र नं २ प्रतिनिधसभा सदस्यमा मगर तथा प्रदेशसभा २ ‘क’मा सरोजराज र ‘ख’मा प्रेमजन थापा श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
घोषणापत्र समाजवादका पक्षमा
नेमकिपाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४को घोषणापत्र सार्वजनिक गर्दै स्थानीय तह र प्रदेश सरकारबाटै नमूना विद्यालय, कलेज र विश्वविद्यालयको स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने जनाएको छ ।
घोषणापत्रमा नेपाली काँग्रेसलाई गैरलोकतन्त्रवादी र वाम गठबन्धनलाई गैरवामपन्थीको संज्ञा दिएको नेमकिपाले सत्तामा जाने दलहरु पूँजीवादी भएको टिप्पणी गरेको छ । देश विकासका लागि समाजवाद आवश्यक रहेको जनाउँदै पार्टीले मतदातालाई घोषणापत्र हेरेर मत दिन आग्रह गरेको छ । रासस





























प्रतिक्रिया