मिथिला शर्माले आफ्ना गुरुहरूकाे नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने

मिथिला शर्माले आफ्ना गुरुहरूकाे नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन्।

अघिल्लो वर्षबाट सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर आगामी साउन १३ गते बुधबार राजधानीमा आयोजना हुने नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा प्रदान गरिने भएको छ।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने कार्यक्रममा सुप्रशिद्ध नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान २०८३ प्रदान गरिनेछ। त्यसैगरी सुप्रशिद्ध गायक तथा संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ बाट सम्मान गरिनेछ। विभिन्न सांगीतिक तथा नृत्यात्मक प्रस्तुतिसहित आयोजना हुने कार्यक्रममा सुप्रशिद्ध साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिनेछ।

त्यस्तै सुप्रशिद्ध हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मानबाट सम्मानित गरिनेछ। यस्तै, सुप्रशिद्ध अभिनेता तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३ प्रदान गरिने अभिनेत्री शर्माले जानकारी दिएकी छन्। नेपाल पूर्व प्रहरी कला साधना सम्मान पहिलोपटक प्रदान गरिन लागेको हो।

नेपाल पूर्व प्रहरी कलाकार संघकी सल्लाहकारसमेत रहेकी शर्माले आफ्ना गुरुहरूलाई सधैं जीवित राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन्।

‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणास्वरूप यो सम्मान स्थापना गरेकी हुँ। विगतले अंश माग्दैन, तर ३ सय ६५ दिनमा विशेष एक दिन गुरुहरूलाई सम्झिएर कार्यक्रम गर्दा गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास जीवित रहने विश्वास लिएकी छु,’ उनले थपिन्, ‘आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर पनि उहाँहरूको नाममा केही गरेर सधैं आशीर्वाद पाइरहूँ जस्तो लाग्छ।

Logo