म्याड्रिड । स्पेनी फुटबलले अहिले नयाँ उचाइ छोएको छ भन्दा हुन्छ । स्पेनले भर्खरै विश्वकप २०२६ को उपाधि जितेको छ । यसक्रममा पुरुष मात्र होइन, महिला र उमेर समूहको फुटबलमा पनि लगातार सफलता हात पारिररहेको छ । यसको दुई प्रमुख कारण छन्, पहिलो आफ्नो रणनीतिक पहिचानमा टिकिरहेन नै भयो, अर्को सामूहिक प्रतिभाको विकास गर्ने योजनालाई पछ्याउने ।
स्पेनी पुरुष टिम विश्वकपमात्र होइन, युरोपेली च्याम्पियन पनि हो । स्पेन ओलम्पिक स्वर्ण विजेता पनि बन्यो । यसबीच उसले दुईपल्ट नेसन्स लिगको फाइनल पुगेको छ अनि एकपल्ट जितेको छ । महिलातर्फ पनि यो विश्वकप च्याम्पियन हो । दुईपल्टको नेसन्स लिग विजेता । यही टिमले सन् २०२५ को युरोपेली च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो ।
यसरी स्पेन एकै समय पुरुष र महिलाको विश्वकप जित्ने पहिलो टिम बनेको छ । यस्तै पछिल्लो समय स्पेनले पुरुष र महिलातर्फ उमेर समूहको फुटबलमा पनि लगातार धेरै प्रतियोगिता जितेको छ । सन् २०१० तिर स्पेनले र्स्व्णिम पुस्ताको मदतमा पहिलो पटक विश्वकप जितेको थियो । त्यसका सदस्य थिए, आन्द्रेस इनिस्टा, जाभी हर्नान्डेज, सर्जियो रामोस, जेरार्ड पिके आदि आदि ।
उनीहरूले बिदा लिइसक्दा पनि पुरुष सिनियर टिमले लगातार जितिरहेको छ । अहिलेको पुस्ताका खेलाडी हुन्, लामिन यामल, पाउ कुबार्सी, रोड्री, फेरान टोरेस आदि । यिनीहरूले नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् । उनीहरूले स्पेनलाई फेरि विश्व फुटबलको शीर्षमा पुर्याएका छन् । स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे भन्छन्, ‘पछाडि फर्केर हेर्दा म निकै भावुक हुन्छु । हामी अझ बलियो हुँदै छौं ।’
दक्षिण अफ्रिकामा सन् २०१० मा विश्वकप विजेता स्पेन अन्तिम १६ को चरणभन्दा माथि जान सकेको थिएन । सन् २०२२ मा फुन्टे आएयता स्पेनले लगभग सबै प्रतियोगितामा बलियो चुनौती पेस गरेको छ । त्यसै त हो, यो स्पेनी टिम अपराजित रहेको संख्या पनि कीर्तिमान ३८ खेल पुगिसकेको छ । अहिलेको स्पेनी टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै सामूहिक प्रदर्शनमा जोड दिने ।
स्टार खेलाडीमा मात्र भर नपर्ने । यसै अनुसार स्पेनको रक्षापंक्ति बलियो छ नै । बलमाथि सक्दो बढी नियन्त्रण राख्नेक्रम पनि जारी छ । फुन्टे भन्छन्, ‘हामीले विश्वकै उत्कृष्ट टिमविरुद्ध खेल्यौं, हामी आफैं पनि उत्कृष्ट थियौं । मलाई यो पुस्ताका खेलाडीप्रति गर्व छ ।’
स्पेनी टिमको यो सफलता पछाडि कुनै रहस्य छ त ? यसको उत्तर फ्रान्सका पूर्व खेलाडी थिएरी हेनरीले दिएका छन् । उनको भनाइ थियो, ‘काममा जुट्नुपर्छ । एउटा देशले सबै खाले फुटबलमा एउटै शैलीमा खेल्नुपर्छ । यसैले त हो, स्पेनले अहिले पुरुष होस् वा महिला या उमेर समूहको फुटबलमा पनि आफ्नो दबदबा कायम राखेको छ ।’
सन् २०२२ को विश्वकपमा स्पेन मोरक्कोको हातबाट पराजित भएपछि त्यतिबेलाका प्रशिक्षक लुइस एनरिकेलाई हटाइएको थियो । उनको स्थानमा आए, फुन्टे । उनको परिचय तुलनात्मक रूपमा कमजोर थियो, तर स्पेनी फुटबल संघले उनलाई राम्रोसँग चिनेको थियो । यसको कारण थियो, फुन्टेलाई स्पेनको उमेर समूहको फुटबलमा काम गरेको राम्रो अनुभव । फेरि स्पेनी संघले पनि आफ्नो फुटबलको सबै चरणमा एउटै प्रक्रिया लागू गरेको थियो, यसले पनि युवा खेलाडीलाई एकै प्रकारले खेल्न मदत मिलेको थियो ।
सन् २०१० को विश्वकपमा टिकीटाका शैलीले उपाधि त दिलायो । यही क्रम सन् २००८ र २०१२ को युरोमा पनि लागू भयो । तर त्यसपछि स्पेनी टिमको प्रदर्शनमा केही कमजोरी देखियो, आलोचना पनि गरियो र भनियो, यो शैली प्रभावशाली रहने छैन । तर स्पेनले बलमाथि अत्यधिक नियन्त्रण राखेर खेल्ने शैलीलाई कहिले पनि परित्याग गरेन र यसलाई कायम राख्यो । एपीबाट































