तेल बोकेर भारत र चीनतर्फ गइरहेका ट्यांकरले बाटो बदले

तेल बोकेर भारत र चीनतर्फ गइरहेका ट्यांकरले बाटो बदले

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । साउदी अरबको कच्चा तेल बोकेर भारत र चीनतर्फ गइरहेका दुईवटा तेल ट्यांकरले लाल सागरमा बाटो बदलेर आफ्नो मार्ग परिवर्तन गरेका छन् ।

दुवै जहाज बाब–अल–मन्देब जलमार्गतर्फ अघि बढिरहे पनि यमनका इरान समर्थित हुथी विद्रोहीहरूको धम्कीपछि फर्किएर स्वेज नहरतर्फ मोडिएका छन् ।

हुथी विद्रोहीहरूले सोमबार साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए । उनीहरूले विश्वभरका सिपिङ कम्पनीहरूलाई इमेलमार्फत चेतावनी दिँदै साउदी अरबका कुनै पनि बन्दरगाहमा सामान लोड वा अनलोड गर्ने जहाजहरूलाई जहाँसुकै निशाना बनाउन सकिने बताएका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये एउटा सुपर ट्यांकर ‘सिन लोङ याङ’ सोमबार साउदी अरबको यन्बु बन्दरगाहबाट करिब २० लाख ब्यारेल कच्चा तेल बोकेर चीनका लागि प्रस्थान गरेको थियो । उक्त जहाज मंगलबार बिहान बाब–अल–मन्देब जलमार्ग पुग्नुअघि नै रोकियो र त्यसपछि ‘यु–टर्न’ लिएर स्वेज मार्गतर्फ मोडिएको थियो । भारततर्फ गइरहेको अर्को ट्यांकरले पनि त्यसैगरी आफ्नो मार्ग परिवर्तन गर्दै उत्तरतर्फ लागेको छ ।

स्ट्रेट अफ होर्मुज बन्द भएपछि साउदी अरबले आफ्नो ‘इस्ट–वेस्ट पाइपलाइन’मार्फत कच्चा तेललाई लाल सागरस्थित यन्बु बन्दरगाहसम्म पुर्‍याएर त्यहाँबाट एसियाली देशहरूमा पठाइरहेको छ । यदि, जहाजहरूले बाब–अल–मन्देबको मार्ग प्रयोग गर्न छाडे भने उनीहरूले स्वेज नहर हुँदै अफ्रिकाको लामो समुद्री मार्ग प्रयोग गर्नुपर्नेछ ।

यसका कारण यात्राको दूरी हजारौँ माइलले बढ्ने, ढुवानी खर्च महँगो हुने तथा भारत, चीनलगायत एसियाली देशहरूमा तेल पुग्न थप समय लाग्नेछ । यसले विश्वव्यापी तेल आपूर्ति र समुद्री व्यापारमा समेत असर पर्ने जोखिम बढाएको छ ।

Logo