जलवायुबारे सङ्कल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता : गगन थापा

जलवायुबारे सङ्कल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता : गगन थापा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभइ सङ्कल्प गर्न भएको बताएका छन्।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आज ललितपुरमा पार्टीद्वारा आयोजित उक्त प्रतियोगितापछि उनले जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन र सङ्कल्प गर्न पनि यहाँ उभिएको उल्लेख गरे।

सभापति थापाले भने, ‘जङ्गल, जमिनलगायत प्राकृतिक स्रोतसाधनलाई संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले त्यतिबेला नै ल्याउनुभएको थियो ।’

जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले फेरि सङ्कल्प गरेको सभापति थापाको भनाइ थियो ।

सभापति थापाले भने, ‘समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराउनुभएकाले त्यसप्रति हामी पूर्ण प्रतिबद्ध छौँ ।’

त्यसअवसरमा सभापति थापाले प्रतियोगितामा विजयी धावकलाई नगद पुरस्कार प्रदान गरे।

ललितपुरको युएन पार्कबाट सुरु भएको पाँच किमी दूरीको उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने मुकेशबहादुर पाललाई ५० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरियोे । प्रतियोगितामा द्वितीय र तृतीय हुने नरेन्द्रसिंह रावल र सञ्जय श्रेष्ठलाई क्रमशः २५ हजार र २० हजार नगद पुरस्कार प्रदान गरियो ।

Logo