पञ्जाबकाे परीक्षामा पनि धाँधलीः केजरीवालको मौनता किन ?

पञ्जाबकाे परीक्षामा पनि धाँधलीः केजरीवालको मौनता किन ?

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । भारतमा ‘नीट’ परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर आम आदमी पार्टी (आप)ले दिल्लीमा विरोध प्रदर्शन गरिरहेका बेला भारतीय जनता पार्टी (भाजपा)ले पञ्जाबमा भएको अर्को ठूलो भर्ती परीक्षा धाँधलीलाई लिएर ‘आप’ का शीर्ष नेता अरविन्द केजरीवालको मौनतामाथि प्रश्न उठाएको छ।

४५४ फर्मासिस्ट (फार्मेसी अफिसर) पदका लागि बाबा फरिद युनिभर्सिटी अफ हेल्थ साइन्सेजद्वारा आयोजित लिखित परीक्षामा याे धाँधली भएकाे आराेप छ । फरिदकोट, कोटकापुरा र फिरोजपुरका १८ परीक्षा केन्द्रमा करिब ७,००० परीक्षार्थी सहभागी भएको यस परीक्षामा एउटा गिरोहले परीक्षार्थीहरूबाट ३.५ लाखदेखि १३ लाख भारतीय रुपैयाँसम्म असुल गरी परीक्षा भवनभित्रै ‘लाइभ’ उत्तर पठाउने व्यवस्था मिलाएको खुलासा भएको छ।

यसै विषयलाई लिएर भाजपा प्रवक्ता अमित मालवीयले आम आदमी पार्टीको दोहोरो चरित्र उदाङ्गिएको आरोप लगाएका छन् । उनले विद्यार्थीको हकहितका लागि लड्ने दाबी गर्ने अरविन्द केजरीवाल र उहाँका समर्थकहरू पञ्जाबको फर्मासिस्ट भर्ती परीक्षामा व्यापक धाँधली हुँदा पनि किन चुप बसेको भन्दै प्रश्न गरेका छन् ।

प्रहरी अनुसन्धान अनुसार यो धाँधली परीक्षा सुरु हुनुभन्दा अगाडि प्रश्नपत्र बाहिर ल्याएर नभई परीक्षा चलिरहेकै समयमा गुप्त प्रविधिको प्रयोग गरी गरिएको थियो। फिरोजपुरको एक केन्द्रबाट परीक्षार्थीले पेन क्यामेराको सहायताले प्रश्नपत्रको फोटो खिचेर हरियाणाको भिवानीस्थित एक सहयोगीलाई ह्वाट्सएपमा पठाएका थिए। त्यसपछि ती तस्बिरहरू फरिदकोटको सोसाइटी नगरस्थित एक घरमा बनाइएको अस्थायी नियन्त्रण कक्ष (कन्ट्रोल रुम)मा पुर्‍याइएका थिए, जहाँ बसेका विज्ञहरूले उत्तर तयार पारी परीक्षा हलभित्र रहेका परीक्षार्थीहरूलाई प्रत्यक्ष रूपमा भनिदिएका थिए।

परीक्षा हलमा रहेका परीक्षार्थीहरूले पगडी, मोजा र भित्री वस्त्रभित्र ब्याट्रीबाट चल्ने साना वायरलेस ब्लुटुथ उपकरणहरू लुकाएर लगेका थिए। प्रहरीले पञ्जाब, राजस्थान र हरियाणाका ७ जना मुख्य षड्यन्त्रकारी र २८ जना परीक्षार्थी गरी जम्मा ३५ जनालाई पक्राउ गरिसकेको छ। उनीहरूबाट २७ वटा वायरलेस उपकरण, पेन क्यामेरा र ग्यारेन्टीका रूपमा राखिएका अग्रिम मितिका चेकहरूसमेत बरामद गरी भारतीय न्याय संहिता र सूचना प्रविधि ऐन अनुसार मुद्दा चलाइएको छ।

Logo