काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज घरेलु टोली नेदरल्याण्ड्ससँग खेल्दै छ। दिउँसो २ः४५ देखि सुरु हुने यस खेलमा नेपाल उत्कृष्ट पुनरागमनको लक्ष्यमा छ।
यही श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध ८ विकेटको एकतर्फी पराजय बेहोरेको थियो। त्यस खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा सन्तोषजनक प्रदर्शन गर्न सकेन।
दोस्रो खेलमा घरेलस टिम नेदरल्याण्ड्सविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन। यद्यपि नेदरल्याण्ड्सविरुद्धको विगत नतिजा हेर्दा नेपाल अगाडि छ।
हालसम्म यी दुई टिमबीच सातवटा ओडिआईमा भेट भएको छ, जसमा नेपालले चार र नेदरल्याण्ड्सले तीनवटा खेल जितेको छ।
यी दुई टोलीले पछिल्लोपटक गत वर्षको जनवरीमा एकअर्काको सामना गरेका थिए । स्कटल्याण्डमा भएको उक्त लिग–२ सिरिजको दुवै खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो।
नेपाली टिम सोही लय यसपटक पनि दोहोर्याउन चाहन्छ। लिग–२ को ताजा तालिका हेर्दा नेदरल्याण्ड्स तेस्रो तथा नेपाल पाँचौं स्थानमा छ।
यसपालि पनि नेपाल लिग–२ को च्याम्पियन बन्ने सम्भावना समाप्त भएको छ। उता डच टिमको उपाधि सम्भावना भने कायमै छ। उसले २८ खेलबाट ३२ अंक जोडिसकेको छ।
नेपालसँग अहिले २९ खेलबाट २४ अंक मात्र छ। शीर्ष चारमा रहेर सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने नेपालको झिनो आशा भने जीवितै छ।
अहिले नेपाली टिमको लक्ष्य समेसम्म शीर्ष चारमा रहेर यात्रा टुंग्याउने त्यसो हुन नसके सोझै एकदिवसीय मान्यता जोगाउने रहेको छ। ओडिआई मान्यता जोगाउन नेपालले लिग–२ तालिकाको शीर्ष ६ मा स्थानमा बनाउनुपर्छ।


















