काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।
नेपाल र पाकिस्तानबीचको प्रतिस्पर्धा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ५:४५ बजेदेखि सुरु हुनेछ।
यसअघि निर्धारित तालिकाअनुसार खेल अपराह्न ४:१५ बजे हुने भनिएको थियो। तर, शुक्रबारको प्रार्थनाको समयलाई ध्यानमा राख्दै आयोजकले खेलको समय परिवर्तन गरेको हो।
प्रतियोगिताअन्तर्गत शुक्रबार नै उज्वेकिस्तान र श्रीलंकाबीच पहिलो तथा बंगलादेश र काजकिस्तानबीच दोस्रो खेल हुनेछ।
घरेलु टोली पाकिस्तान प्रतियोगितामा बलियो लयमा देखिएको छ। उसले सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थान ओगटेको छ।
यता नेपालले भने दुई खेल खेल्दासम्म जितको खाता खोल्न सकेकाे छैन। दुवै खेलमा नेपालले कडा चुनौती प्रस्तुत गर्दै पाँच सेटसम्म प्रतिस्पर्धा गरे पनि पराजय बेहोरेको थियो।




















