मोरङ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख मिक्मार तामाङलाई प्रहरीले नगद रकमसहित विराटनगर विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
नेपाल सरकारका उपसचिवसमेत रहेका तामाङको साथबाट स्रोत खुल्न नसकेको ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
गत ३ साउनमा बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गर्ने क्रममा विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई रोकेको थियो। प्रहरीले उक्त घटनाको जानकारी शुक्रबार सार्वजनिक गरेको हो।
दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङको झोलामा रहेको रकमबारे शंका लागेपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा १ हजार रुपैयाँ दरका ५१५ थान र ५०० रुपैयाँ दरका ३०० थान नोट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बरामद रकमको वैधानिक स्रोतबारे तामाङले स्पष्ट विवरण दिन नसकेपछि प्रहरीले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीले प्रारम्भिक कारबाहीपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको थियो।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। रकम कहाँबाट आएको हो भन्ने विषयमा आवश्यक छानबिन भइरहेको उनले जानकारी दिए।




















