सियोल। दक्षिण कोरियाको एक अदालतले एसके ग्रुपका अध्यक्ष चोइ ताए–वनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वपत्नी रो सो–योङलाई ९४४ अर्ब वन (करिब ६४ करोड अमेरिकी डलर) तिर्न आदेश दिएको छ।
यो मुद्दाले देशको दोस्रो ठूलो व्यापारिक समूह एसके ग्रुपमा रहेको अर्बपतिको हिस्सेदारी र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रका कारण बढेको कम्पनीको मूल्यप्रति ध्यान आकर्षित गरेको छ।
चोइकी पूर्वपत्नी रो सो–योङलाई दिइने यो रकम दक्षिण कोरियाको सम्बन्धविच्छेद इतिहासकै सबैभन्दा ठूलो नगद क्षतिपूर्ति हो। यद्यपि, सन् २०२४ मा पुनरावेदन अदालतले तोकेको १.३८ ट्रिलियन वनको क्षतिपूर्तिभन्दा यो रकम निकै कम हो।
लगानी कोषका व्यवस्थापक र विश्लेषकका अनुसार क्षतिपूर्ति तिर्न चोइले एसके ग्रुपअन्तर्गतका केही कम्पनीका सेयर बिक्री गर्नुपर्ने वा ती सेयरलाई धितो राखेर रकम जुटाउनुपर्ने हुन सक्छ। तर, यसले समूहको व्यवस्थापन नियन्त्रणमा ठूलो असर पर्ने सम्भावना नरहेको उनीहरूको भनाइ छ।
‘यसले एसके ग्रुपको व्यवस्थापन नियन्त्रणमा सम्भवतः असर पार्ने छैन,’ कर्पोरेट विश्लेषण संस्था लिडर्स इन्डेक्सका प्रमुख पार्क जु–गुनले भने।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै एसके ग्रुपको अन्तर्राष्ट्रिय प्रभाव बढेको छ।
यसको चिप उत्पादन गर्ने सहायक कम्पनी एसके हाइनिक्सले एनभिडियाका एआई प्रोसेसरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको प्रमुख आपूर्तिकर्ताका रूपमा स्थान बनाएको छ। यसका कारण कम्पनी उन्नत सेमिकन्डक्टरको बढ्दो मागबाट सबैभन्दा बढी लाभ लिने संस्थामध्ये एक बनेको छ।




















