युक्रेनी ड्रोन आक्रमणपछि इन्धन संकटमा रुस

युक्रेनी ड्रोन आक्रमणपछि इन्धन संकटमा रुस

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । युक्रेनी ड्रोन आक्रमणले प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) हरूमा क्षति पुर्‍याएपछि रुस इन्धन अभावसँग जुधिरहेको छ। घरेलु प्रशोधन क्षमता करिब ४० प्रतिशतले घटेपछि रुसले पहिलो पटक भारतबाट पेट्रोल आयात गर्न थालेको हो।

फाइनान्सियल टाइम्सका अनुसार भारतको गुजरातस्थित वाडिनार रिफाइनरीबाट पठाइएको ४२ हजार टन पेट्रोल बोकेको ट्यांकर आइतबार उत्तरी रुसको बेलोये मोरे तेल टर्मिनलमा पुग्ने तयारीमा छ। यो खेप हालसम्मको इन्धन संकटपछि रुस पुगेको सबैभन्दा ठूलो एकल पेट्रोल आयात मानिएको छ।

युक्रेनी आक्रमणका कारण रिफाइनरीहरू क्षतिग्रस्त भएपछि रुसमा सोभियत संघ विघटनयताकै सबैभन्दा गम्भीर इन्धन संकट देखिएको छ। देशका विभिन्न क्षेत्रमा प्रतिव्यक्ति पेट्रोल बिक्रीमा सीमा तोकिएको छ भने केही स्थानमा इन्धनका लागि घण्टौंदेखि दिनौंसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ। यस संकटबाट करिब ५ करोड रुसी प्रभावित भएका छन्।

रुस सरकारले पेट्रोल आयात गर्ने योजना जुन अन्तिम साता औपचारिक रूपमा घोषणा गरेको थियो। त्यसअघि नै देशभरका पेट्रोल पम्पमा लामो लाइन देखिन थालेका थिए। वाडिनार रिफाइनरीबाट १८ जुनमा अग्नि’ नामक जहाजमा पेट्रोल लोड गरिएको थियो। पछि ६ जुलाईमा इजिप्टको भूमध्यसागरीय तट नजिक डामियेटा लाइट क्षेत्रमा उक्त इन्धन गार्नेट’ नामक ट्यांकरमा सारिएको थियो। २२ जुलाईसम्म उक्त जहाज नर्वेको तट हुँदै उत्तरतर्फ अघि बढिरहेको थियो।

वाडिनार रिफाइनरी भारतको नायरा इनर्जी को स्वामित्वमा छ, जसमा रुसी सरकारी कम्पनी रोसनेफ्टको ४९ प्रतिशत हिस्सा छ। क्प्लरका अनुसार सन् २०२६ मा वाडिनारमा प्रशोधन गरिएको कच्चा तेलमध्ये ९० प्रतिशतभन्दा बढी रुसबाट आएको थियो। त्यसैले रुसकै कच्चा तेल भारतमा प्रशोधन भएर पुनः रुसमै फर्कनु उल्लेखनीय मानिएको छ।

यद्यपि नायरा इनर्जीले भने आफूले रुसी कम्पनीहरूलाई इन्धन बिक्री नगरेको र त्यस्तो कुनै योजना पनि नरहेको जनाएको छ। कम्पनीले भारतीय बजारको माग पूरा गर्न प्रतिबद्ध रहेको बताएको छ। यसअघि जुलाईको सुरुमा रोयटर्स ले भारतबाट कम्तीमा ६० हजार टन पेट्रोल रुस पठाइएको जनाएको थियो, जुन रुसको दैनिक पेट्रोल खपतको करिब ६० प्रतिशत बराबर हो।

भारत मात्र होइन, बेलारुसले पनि रुसलाई पेट्रोल आपूर्ति उल्लेख्य रूपमा बढाएको छ। रुसस्थित प्राइस बेन्चमार्क सेन्टरका अनुसार जुन महिनामा बेलारुसले रुसलाई १ लाख ८४ हजार टन पेट्रोल बिक्री गरेको थियो, जुन अघिल्लो महिनाको तुलनामा तीन गुणा र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८४ गुणाले बढी हो।

रुसका ऊर्जा क्षेत्र हेर्ने उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ८ जुलाईमा पेट्रोलियम उत्पादन आयात सुरु भएको पुष्टि गरेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आर्थिक विषयमा आयोजित बैठकमा इन्धन संकटबारे उल्लेख गर्दै समस्या अस्थायी भएको र यसले समग्र अर्थतन्त्रमा दीर्घकालीन असर नपार्ने दाबी गरेका छन्।

इन्धनको माग घट्नु र स्वतन्त्र पेट्रोल पम्पहरूले मूल्य युरोपेली स्तरसम्म बढाउनुका कारण पनि संकट केही कम भएको विश्लेषण गरिएको छ। यसपछि केही क्षेत्रमा बिक्रीमा लगाइएका प्रतिबन्ध हटाइएका छन् र पेट्रोल पम्पका लाइन पनि छोटिएका छन्।

तर दक्षिणी शहर अस्त्राखान तथा पश्चिमी शहर लिपेत्स्क र भोरोनेझलगायत क्षेत्रमा अझै पनि ५० देखि १०० भन्दा बढी सवारीसाधनको लामो लाइन लागिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भोल्गा नदी किनारको उल्यानोभ्स्कमा भने अवस्था झन् बिग्रिएको क्लुगेको विश्लेषणले देखाएको छ। एजेन्सी

Logo