हरिशयनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

हरिशयनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

केन्द्रबिन्दु
3
Shares


काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।

भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

बुढानीलकण्ठ मन्दिरमा भक्तजन

चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउने गरेका छन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजा आजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।

यसैगरी दरबारमार्गस्थित नारायणहिटीमा रहेको चतुव्र्युह नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । चतुव्र्युह नारायण मन्दिरमा चारै नारायणको मूर्ति रहेको नारायणहिटी चतुव्र्युह मठका मठाधीश राजेश्वरानन्द सरस्वतीले जानकारी दिनुभयो । चार नारायण दर्शन गर्न नसक्नेले चतुव्र्युह नारायण मन्दिरमा दर्शन गरेमा चारै नारायण मन्दिरमा दर्शन गरे बराबरको फल मिल्ने उहाँले सुनाउनुभयो । यसै विश्वासका आधारमा आज बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

मन्दिरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति तीन बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

बुढानीलकण्ठ मन्दिरमा भक्तजन

जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ । नेपालीले आजैदेखि घर घरमा तुलसीको विशेष पूजा सुरु गर्दैछन् । यसरी पूजा गर्ने क्रम कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म जारी रहन्छ । यो चार महिनाको अवधिलाई चतुर्मास पनि भनिन्छ । यी चार महिना धेरै भक्तजन व्रत बस्ने गर्छन् । यस अवधिमा नारायण मन्दिरमा चतुर्मास प्रवचन पनि भन्ने गरिन्छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–५ स्थित नारायणटारमा रहेको नारायण मन्दिर, पशुपति क्षेत्रमा रहेका विभिन्न नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रको सत्य नारायण मन्दिर, वसन्तपुर दरबार क्षेत्रस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यकासहित देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

हरिशयनी एकादशी अर्थात तुलसी रोप्ने दिन शनिबार आज काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजाअर्चना एवं दर्शन गर्दै भक्तजन। तस्बिर:अशोक घिमिरे /रासस

Logo