मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, आठ घर उच्च जोखिममा

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु, आठ घर उच्च जोखिममा

केन्द्रबिन्दु
12
Shares

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा गएराति आएको पहिरोले एक घर पुरिँदा तीन वर्षीय बालकको ज्यान गएको छ। उनका बुबा–आमा घाइते भएका छन्।

प्रहरीका अनुसार छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल आफ्नो परिवारसहित स्थानीय पेमा लामाको घरमा भाडामा बस्दै होटल सञ्चालन गर्दै आएका थिए। राति उनीहरू सुतिरहेका बेला माथिबाट ढुङ्गासहित आएको पहिरोले घर पुरेको हो।

घटनामा तीन वर्षीय रमेश बडुवाल गम्भीररूपमा पुरिएका थिए। प्रहरी र स्थानीयवासीले तत्काल उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पहिरोमा परेका जगनाथ बडुवाल र उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल भने सामान्य घाइते भएका छन्। उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब २०० मिटर माथिबाट खसेको पहिरोले उक्त घर पूर्णरूपमा ध्वस्त बनाएको छ। घटनापछि आसपास रहेका थप आठ घर पनि जोखिममा परेकाले त्यहाँ बसोबास गर्ने सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाले जानकारी दिए।

Logo