धनगढी । अनशनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
डा. केसी धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा अनशनरत थिए। शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका थिए।
परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन गरिएको थियो। चिकित्सकका अनुसार सुगरको स्तर अत्यन्त कम भएकाले उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको देखिएको हो।
स्वास्थ्यमा थप जोखिम देखिएपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरेर उपचार गर्न सिफारिस गरेका थिए। सोही सिफारिसअनुसार उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो।
डा. केसी बिहीबारदेखि पाँचबुँदे माग अघि सार्दै सत्याग्रहमा बसेका हुन्। उनका सहयोगी डा. अमृत जैशीका अनुसार लामो अनशनका कारण मांसपेशी बाउडिने, बोल्न कठिन हुने तथा हिँडडुल गर्नसमेत समस्या देखिएको छ। यसअघि खुट्टाको शल्यक्रिया गराएकाले उनलाई शौचालयसम्म जान पनि कठिनाइ भइरहेको उनले बताए।
यसबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका मागप्रति सकारात्मक रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. जैशीसँग छलफल गरेका थिए । उनले राति डा. केसीसँग पनि टेलिफोनमार्फत संवाद गरेका थिए।
संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए।
जवाफमा डा. केसीले आफ्ना पाँच बुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गर्न, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्न तथा स्वार्थ प्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेज गर्नुपर्ने विषयलाई आफ्नो मुख्य अडान रहेको बताएका थिए।
डा. जैशीका अनुसार मन्त्री पोखरेलले ती विषयमा वार्ता अघि बढाउन सरकारी वार्ता टोली गठन गर्ने र आवश्यक परे स्वयं धनगढी आएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




















