काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार लामो समयसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियताको आधारमा बनेका शक्तिहरूको उदय जति तीव्र भएको छ, पतनको सम्भावना पनि त्यत्तिकै हुने टिप्पणी गरेका हुन्।
महासचिव पोखरेलले बालेन नेतृत्वको सरकार अहिलेको अवस्थामा जनआकर्षणका कारण स्थापित भएको बताए। उनले यस्तो प्रकारको लोकप्रियता दीर्घकालीन राजनीतिक आधार बन्न नसक्ने दाबी गर्दै सरकारको स्थायित्वप्रति प्रश्न उठाएका छन्।
उनले भने, ‘बालेन सरकार लोकप्रियताको जगमा बनेको हो। यो लामो समयको चुनौती हो भन्ने मलाई लाग्दैन। कुनै शक्ति जति छिटो उदाउँछ, त्यसको पतन पनि त्यति नै छिटो हुन सक्छ। अहिले उनीहरू नाटकीय रूपमा स्थापित भएका छन्, त्यसको असर पनि त्यस्तै देखिन सक्छ।’
पोखरेलले रास्वपाको प्रभाव कमजोर भएपछि त्यसको प्रत्यक्ष लाभ एमालेले पाउने भन्नेमा भने निश्चित आधार नरहेको बताए। उनले युवा पुस्तामा एमालेप्रति आकर्षण बढ्न नसकेको विषयलाई स्वीकार गर्दै पार्टीका अधिकांश कार्यक्रममा अझै पनि पुरानै पुस्ताका कार्यकर्ताको उपस्थिति बढी देखिने गरेको उल्लेख गरे।
एमाले महासचिवले कम्युनिस्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको पनि बताए। उनले विगतमा नेकपा गठन भएपछि शक्तिशाली सरकार सञ्चालन गर्दासमेत विभिन्न सामाजिक समूह र वर्गहरू पार्टीबाट टाढिँदै गएको अनुभव रहेको बताए।
उनले एमालेसँग लामो समयदेखि जोडिएका कार्यकर्ता र उनीहरूका परिवारको आधार रहेको उल्लेख गर्दै पार्टीले बदलिँदो राजनीतिक अवस्थालाई गम्भीररूपमा आत्मसात् गर्नुपर्ने संकेत गरे।




















