कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

केन्द्रबिन्दु
9
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पद त्यागेको घोषणा गरेका हुन्।

कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथिको छलफलका क्रममा उनले आफ्नो धारणा राख्दै राजीनामा घोषणा गरेका हुन्।

सम्बोधनका क्रममा कँडेलले पद र कुर्सी आफ्नो लागि मुख्य विषय नभएको बताएका छन्। उनले राजनीतिक जिम्मेवारीभन्दा पदलाई ठूलो नठान्ने उल्लेख गर्दै परिस्थितिअनुसार निर्णय गरेको संकेत गरेका छन्।

कँडेल २०८० चैतको अन्तिम साता कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। प्रारम्भमा माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्व गरेका उनी २०८१ साउनदेखि नेपाली कांग्रेससँगको गठबन्धनमा थिए।

आफ्नो कार्यकालको समीक्षा गर्दै कँडेलले प्रदेशमा विभिन्न सुधारात्मक काम भएको दाबी गरेका छन्। साथै, गठन हुन लागेको नयाँ सरकारको स्थायित्वबारे भने अहिले नै केही भन्न नसकिने उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले भने, ‘म यहाँ आउँदै गर्दा नेकपा–एमालेका दुई जना अध्यक्ष बसिरहनुभएको थियो। उहाँहरूसँग टेलिफोनमा पनि कुरा भएको थियो।’

Logo