भोजिन्हा चिलीको क्लबमा जाने

भोजिन्हा चिलीको क्लबमा जाने

केन्द्रबिन्दु
3
Shares

सान्टियागो । विश्वकपमा केप भार्डेका नायक बनेका ४० वर्षीय गोलकिपर भोजिन्हाले चिलीको ठूला क्लब कोलो कोलोका लागि सम्झौता गर्ने भएका छन्। ‘भोजिन्हा कोलो कोलोका खेलाडी बन्ने तयारीमा छन्।

उनी छिट्टै चिली आइपुग्ने छन्, आवश्यक मेडिकल परीक्षणहरू गर्नेछन् र त्यसपछि उनलाई स्थानीय मोनुमेन्टल स्टेडियममा प्रस्तुत गरिनेछ,’ कोलो कोलो क्लबका अध्यक्ष एनिबल मोसाले शुक्रबार सञ्चारकर्मीसँग भनेका छन्।

भोजिन्हाले विश्वकप च्याम्पियन स्पेनविरुद्ध समूह चरणमा गोलरहित बराबरीमा र उपविजेता अर्जेन्टिनासँग नकआउट चरणमा ३–२ को अतिरिक्त समयको हारमा वीरतापूर्ण प्रदर्शन गरेका थिए।

गोलकिपर भोजिन्हाको पूरा नाम जोसिमार जोसे इभोरा डायस हो। उनी पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेल्थे। यद्यपि २६ वर्षको उमेरसम्म उनले पहिलो व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेनन्। उनले साइप्रस, स्लोभाकिया, मोल्दोभा र अङ्गोलामा पनि खेले।

‘उनी धेरै राम्रो फर्ममा छन्, त्यसैले हामी उनलाई अनुबन्ध गर्दैछौं,’ मोसाले भने, ‘हामी भोजिन्हाको स्वागतको तयारीमा छौं।’ अनुबन्धित रकम भने क्लबले खुलाएको छैन। विश्वकपसँगै भोजिन्हा सामाजिक सञ्जाल स्टार पनि बनेका छन्। यी गोलकिपरको इन्स्टाग्राम फलोअर्स ५० हजारबाट बढेर लगभग ३ करोड पुगेको छ।

३४ पटक चिलीको च्याम्पियन बनेको कोलो कोलो अहिले सिजनको मध्यतिर अंकतालिकामा अगाडि नै छ। यो चिलीको सबैभन्दा ठूलो क्लब हो। हाललाई भोजिन्हाको सम्झौता १८ महिनाका लागि हुने बताइएको छ। एपी

Logo