नेकपाका मंगलबहादुर शाही बन्दैछन् कर्णाली प्रदेशका मुख्यमन्त्री

नेकपाका मंगलबहादुर शाही बन्दैछन् कर्णाली प्रदेशका मुख्यमन्त्री

केन्द्रबिन्दु
12
Shares

सुर्खेत । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिबार भएको प्रदेश सरकार भागबण्डाअन्तर्गत कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले दलको नेता हुँदाहुँदै अरु व्यक्तिका बारेमा छलफल गर्न आवश्यक नहुने बताए । त्यहाँ माधवकुमार नेपाल नेतृत्वको साविक नेकपा एसका तर्फबाट प्रदेशसभा सदस्य कल्याणी खड्काले मुख्यमन्त्री दावी गर्नसक्ने सम्भावना न्यून रहेको ज्वालाले बताए । मुख्यमन्त्री चयनका लागि आइतबार सुर्खेतमा बैठक बोलाइएको जानकारी उनले दिए ।

शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने खड्का रुकुम पश्चिमकी हुन् । तर, साबिक नेकपा एसले तत्काल कुनै पनि प्रदेशमा मुख्यमन्त्री दावी नगरेको ज्वालाको भनाइ छ । ‘सहमतिमा कोही साथीको प्रस्ताव आएमा छलफल गर्न सकिन्छ, तर त्यस्तो तयारी छैन,’ उनले भने ।

नेकपाले प्रदेशको सरकारको नेतृत्व पाएमध्ये साबिक नेकपा एसका तर्फबाट कर्णालीमा खड्कासहित कोशीमा राजेन्द्र राई र सुदूरपश्चिममा नरेशबहादुर शाही मुख्यमन्त्रीका दावेदारका रूपमा हेरिएका थिए । तीमध्ये राईले दावी नहुने सार्वजनिक धारणा राखिसकेका छन् । उनी २०७४ मा गठित प्रदेशसभाको पहिलो कार्यकालका अन्तिम मुख्यमन्त्री थिए ।

सुदूरपश्चिममा दावेदारका रूपमा हेरिएका शाहीले शनिबार एमालेसँग भएको सहमतिलाई पार्टी निर्णयबेगरको भनी असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सन्जालबाट त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

Logo