कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार ३०९ नाघेको अलजजिराले जनाएको छ । सरकारी तथ्यांकअनुसार केवल पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले बढेको छ । एक प्रमुख जनस्वास्थ्य विज्ञले भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिएका छन् ।

सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म मृतकसहित पुष्टि भएका संक्रमितको कुल संख्या दुई हजार ९७३ पुगेको छ । यो अघिल्लो शनिबारको तथ्यांकको तुलनामा २७ प्रतिशत बढी हो ।

संक्रमण र मृत्यु दुवैको संख्या असाधारण रूपमा बढ्दै जाँदा कंगोको यो प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारीमध्ये एक बन्ने चिन्ता व्यक्त गरिएको छ ।

कंगोमा फैलिएको ‘बुन्दिबुग्यो’ प्रजातिको भाइरसले महामारीलाई थप जटिल बनाएको बताइएको छ । मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ र हालसम्म यसका लागि कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको स्थापना प्रक्रियामा संलग्न जनस्वास्थ्य परामर्शदाता अब्दुलसलामी नासिदीले अल जजिरासँग कुरा गर्दै प्रमाणित खोपको अभावका कारण भाइरस ‘डढेलो जसरी फैलिरहेको’ बताएका छन् ।

उनका अनुसार अफ्रिकी मुलुकहरूमा जनस्वास्थ्यका स्रोतसाधन पहिलेदेखि नै सीमित रहेको त्यसमाथि महामारी सक्रिय सशस्त्र द्वन्द्व प्रभावित क्षेत्रमा फैलिरहेकाले नियन्त्रण प्रयास थप चुनौतीपूर्ण बनेको छ ।

यसैबीच, वैज्ञानिकहरू महामारीको फैलावट रोक्ने उपाय अन्तर्गत अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड भ्याक्सिन ग्रुपले शुक्रबार तीव्र गतिमा विकसित गरिएको परीक्षणमूलक खोपको पहिलो मात्रा एक स्वयंसेवकलाई दिइएको जनाएको छ । यस परीक्षणबाट भविष्यमा बुन्दिबुग्यो प्रजातिविरुद्ध प्रभावकारी खोप विकास हुने अपेक्षा गरिएको बताइएको छ ।

Logo