मधेसमा लागुऔषधविरुद्ध अभियान : तीन वर्षमा ३ हजार ८११ जना पक्राउ

मधेसमा लागुऔषधविरुद्ध अभियान : तीन वर्षमा ३ हजार ८११ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम। प्रतिबन्धित लागुऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागुऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् ।

लागुऔषधविरुद्धको अभियानअन्तर्र्गत प्रहरीले नियमित जाँच गर्न थालेपछि मधेस प्रदेशका आठ वटै जिल्लामा गाँजा, चरेस, अफिम, ब्राउन सुगरलगायत लागुऔषध कारोबारमा संलग्न पक्राउ पर्न थालेका हुन् ।

सङ्गठित अपराध लागूऔषधविरुद्ध अभियान चलाएको प्रहरीले मधेस प्रदेशका आठ वटै जिल्लाबाट ठूलो परिमाणमा लागुऔषध पनि बरामद गर्दै आएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बितेका तीन आर्थिक वर्षमा मधेस प्रदेशमा विभिन्न प्रकारका लागुऔषधसहित दुई हजार ८११ जना पक्राउ परेका छन् भने दुई हजार १२१ वटा लागुऔषध सम्बन्धित मुद्दा दर्ता भएका छन् ।

उक्त अवधिमा दुई हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिकसहित दुई हजार ८११ जना पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

बितेको आवमा मधेस प्रदेशमा लागुऔषधसहित प्रहरीले ७८६ नेपाली, ८४ भारतीय र एक विदेशी गरी ८७१ जनालाई पक्राउ गरेको छ भने ६३० वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको छ ।

यसैगरी, सो अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, ५१६ ग्राम ब्राउन सुगर, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ वटा ट्याब्लेट, दुई हजार ११८ सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद भएको प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।

उनका अनुसार अघिल्लो आव २०८१/८२ मा लागुऔषधसहित ८३६ जना पक्राउ पर्दा ५८५ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यस क्रममा १६ हजार ५७३ किलोग्राम गाँजा, ६१ ग्राम ब्राउनसुगर, ५०५ किलो ग्राम चरेस, ४५ किलो ग्राम अफिम, दुई हजार ७०५ ग्राम हिरोइन, तीन लाख ७० हजार ४४२ ट्याब्लेट, सात हजार ५०४ सिरफ र ६१ हजार ३३३ इन्जेक्सन बरामद भएको थियो ।

यसअघि गत आव २०८०/८१ मा प्रहरीले मधेस प्रदेशबाट लागूऔषधसहित एक हजार १०४ जनालाई पक्राउ गरेको थियो भने ७९७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

सो आवमा आठ हजार ५३९ किलो गाँजा, ५९४ ग्राम ब्राउन सुगर, १२१ किलो १४६ ग्राम चरेस, एक ग्राम अफिम, एक हजार १३१ ग्राम सात हजार १११ मिलिग्राम हिरोइन, ४९ हजार ८८८ वटा ट्याब्लेट, तीन हजार ४१६ सिरफ र ५४ हजार ४०४ इन्जेक्सन बरामद भएको थियो । यसरी खुला सिमानाकाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने विभिन्न नाकाका औषधि पसलहरूबाट सहजै ल्याउने लागुऔषध राजधानी काठमाडौंसम्म पुग्ने गरेका छन् ।

सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवाजमात बढ्दो छ । प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँचलाई कडाई गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागुऔषधका सामग्रीहरू बरामद हुने गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।

लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । अभिभावकविहीन लागुऔषधको कुलतमा फसेका उनले बताए । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको बहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताए ।

Logo