काठमाडौं । युरोप उड्नुअघि कप्तान रोहितकुमार पौडेलले भनेका थिए, ‘यो भ्रमण कठिन छ। तर, अङ्क तालिका सुधार्न हामी ज्यान फालेर खेल्नेछौँ।’
आइसिसी क्रिकेटविश्वकप लिग–२ को जारी सिरिजमा नेपालको प्रदर्शन हेर्दा रोहितको भनाइ केही हदसम्म मेल खान्छ। तर, खेलाडीले ज्यान फालेरै खेलिरहेको भने महसुस गराउन सकिरहेका छैनन्। किनकि श्रृंखलाको सुरुवाती दुवै खेलमा नेपाल १ सय ५७ रनको स्कोरमै अलआउट भयो।

५० ओभरको खेलमा यस प्रकारको ब्याटिङ निकै लज्जास्पद र चिन्ताजनक हो। त्यो पनि निर्णायक समयमा। नेपाली टिम अहिले निकै दबाबमा छ। लिग–२ को उपाधि गुमाइसकेको नेपाल ताजा स्थितिमा शीर्ष चारको स्थान र एकदिवसीय मान्यता जोगाउन गर या मरको स्थितिमा छ।
दुई महिनाअघि घरेलु मैदानमा भएको लिग–२ सिरिजमा सानदार प्रदर्शन गरेपछि टोलीले केही आशा देखायो। र, नेपालले गत संस्करणको उपलब्धि रक्षा गर्ने आकलन गरियो। तर, नेदरल्याण्ड्स प्रस्थान गरेपछि टिम लय समात्न ठूलो संघर्ष गरिरहेको छ।
अनुभवी खेलाडी नै लयविहीन
जारी श्रृंखलामा नेपाल सबै विधामा चुकिरहेको छ। विगतमा नेपाली टिम ब्याटिङभन्दा बढी बलिङका लागि चिनिन्थ्यो। तर, यस सिरिजमा नेपालका प्रमुख बलरहरू फिक्का देखिए। टिमका सर्वाधिक भरोसायोग्य बलर मानिने सन्दीप लामिछाने लगातार विकेटविहीन बनेका छन्। उनले नामिबियाविरुद्ध ७ ओभरमा बिनाविकेट ३२ रन खर्चिए।

सन्दीप डच टिमविरुद्ध झन् कमजोर देखिए। दोस्रो म्याचमा उनले ८.१ ओभरमा बिनाविकेट ३६ रन दिए। सन्दीपको लगातार खराब प्रदर्शनले पनि नेपालले अपेक्षाकृत नतिजा हासिल गर्न सकेको छैन। टिमका अरू अनुभवी बलरद्वय सोमपाल कामी र करण केसी पनि लय समात्न सकिरहेका छैनन्।
उनीहरूमध्ये सोमपाल यस सिरिजको पहिलो खेलमा विकेटविहीन बने। दोस्रो खेलमा एक विकेट लिएका उनले ४१ रन खर्चिए। करण भने दुवै खेलमा विकेटविहीन बनेका छन्।
नयाँ बलमा उनीहरूले विपक्षी ब्याटरलाई दबाबमा दिन नसक्दा नेपालले लगातार फराकिलो हार बेहोरिरहेको छ।
ब्याटिङमा झन् कमजोर
ब्याटिङतर्फ नेपालको प्रदर्शन थप कमजोर देखिएको छ। प्रारम्भिकदेखि तल्लोक्रमका कुनै पनि ब्याटर क्रिजमा लामो समयसम्म टिक्न सकेका छैनन्।

सिरिजको सुरुवाती दुई खेलमा नेपालका एकजना ब्याटरबाट पनि अर्धशतकीय पारी देख्न पाएन। प्रमुख ब्याटर कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहितकुमार पौडेल सस्तैमा पवेलियन फर्किँदा टिमले प्रतिस्पर्धात्मक स्कोर पनि बनाउन सकिरहेको छैन।
लगातारको खराब प्रदर्शनका कारण ब्याटरमा आत्मविश्वासको कमी देखिएको छ। यद्यपि कप्तान रोहित पौडेलले भने बाँकी दुई म्याचमा सानदार पुनरागमन दाबी गर्छन्। दोस्रो हारपछि उनले भनेका छन्, ‘नेदरल्याण्ड्सको यो पिचमा पहिलो एक घण्टा ब्याटिङ गर्न निकै गाह्रो छ। यद्यपि सिरिजमा अझै दुईवटा खेल बाँकी छ, हामी उत्कृष्ट कमब्याक गर्नेछौँ।’
सोझै विश्वकप छनोट खेल्ने सम्भावना न्यून्
नामिबिया र नेदरल्याण्ड्सँगको लगातार फराकिलो हारले सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ। यदि बाँकी ६ खेलमा उच्चस्तरको प्रदर्शन गर्न नसके नेपालको एकदिवसीय मान्यता पनि संकटमा पर्न सक्छ। सोझै ओडिआई मान्यता जोगाउने हो भने नेपालले लिग–२ तालिकाको शीर्ष ६ मा स्थान सुरक्षित गर्नुपर्छ।

टप सिक्समा पर्न नसके विश्वकप छनोट र एकदिवसीय मान्यता जोगाउन नेपालले अर्को विकल्प पाउने छ। त्यो हो– विश्वकप क्वालिफायर प्लेअफ, जहाँ लिग–२ का पुछारका चारवटा टोलीले च्यालेन्ज लिगबाट आएका टिमसँग प्रतिस्पर्धा गर्ने छन्। आठवटा टोलीबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा शीर्ष चारमा रहने टिमले ओडिआई मान्यता जोगाउनुका साथै एकदिवसीय विश्वकप छनोट पनि खेल्न पाउने छन्।
अब नेपालको अगाडिको बाटो कठिन छ। तर, क्रिकेटमा असम्भव भन्ने केही हुँदैन। प्रश्न यति मात्र हो, के नेपाली टोलीले कप्तान रोहितले भनेजस्तै बाँकी खेलमा साँच्चिकै उत्कृष्ट कमब्याक गर्न सक्ला त?




















