निर्माण व्यवसायी गौचनलाई गोली हान्ने सुटरसहित पाँच पक्राउ

निर्माण व्यवसायी गौचनलाई गोली हान्ने सुटरसहित पाँच पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २८ कार्तिक ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको गोली हानी हत्या गरी एक महिनादेखि फरार रहेका एक सुटरसहित पाँचजनालाई प्रहरीले काठमाडौ लगायतका ठाउँबाट पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको छ ।

हत्यामा दुई फरक–फरक पेस्तोलबाट गोली चलेको अनुसन्धानबाट खुलेको छ । घटनालाई अन्तिम रुप दिन होन्डा कम्पनीको साइन मोटरसाइकल भारतवाट चोरी गरेर नेपाल भित्र्याइएको थियो । त्यसमा नेपाली नम्बर प्लेट राखेर सुटरहरुले प्रयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको डिआइजी गणेश केसीले बताए ।

गौचनलाई गोली हान्ने सुटर नुवाकोट पंचकन्या गाउँपालिका–५ का २१ वर्षीय राजीव स्याङताङ र घटनालाई अन्तिम रुप दिन हतियार ब्यवस्थापन लगायतको कार्यमा साथ दिने काठमाडौ नागार्जुन नगरपालिका–४ का २२ वर्षीय प्रकाश बुढाथोकी, पर्सा कालिकामाई गाउँपालिका–१ का ३५ वर्षीय शिवजी महतो, भारतको बिहार बेतिया जिल्ला ग्राम पंचायत चौबेटोला–७ का मुकेशकुमार पाण्डे र पर्सा ठोरी गाउँपालिका–५ का १८ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोले भारतकोे बेतियाबाट ५५ हजार नेपाली रुपैयाँमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैेयामा श्याम गुम्बे गुरुंंगलाई विक्री गरेको अनुुसन्धानबाट खुलेको छ । सोही हतियार प्रयोग गर्दै गौचनको हत्या भएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

फिरौती नै हत्याको कारण रहेको प्रहरीले निष्कर्ष निकालेकोे छ ।

गत असोज २३ गते दिउँसो २ बजेर ४५ मिनेटमा बानेश्वरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनलाई गोली हानेका थिए । ठेक्कापट्टाको विषयलाई लिएर हत्या भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले बरामद गरेको बा ३५ प २४६१ नम्बरको मोटरसाइकल नै गौचनको हत्यामा प्रयोग गरिएको पनि पुष्टि गरेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार मुख्य आरोपी समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा गरी आठ जना अझै फरार रहेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको छ ।

घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

Skip This
Skip This
Logo