अमेरिका-इरान आक्रमण स्थगन हुनासाथ ह्वात्तै घट्यो कच्चा तेलको मूल्य

अमेरिका-इरान आक्रमण स्थगन हुनासाथ ह्वात्तै घट्यो कच्चा तेलको मूल्य

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । इरान र संयुक्त राज्य अमेरिकाबिच पाँच महिनादेखि जारी तनावपूर्ण सैन्य टकराबमा केही राहत देखिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई अवसर दिने संकेत दिएपछि इरानले पनि आफ्ना प्रतिशोधात्मक आक्रमण स्थगन गरिएको जनाएको छ।

यससँगै गल्फ क्षेत्रमा तेल ढुवानी र ऊर्जा पूर्वाधारमाथिको तत्कालको जोखिम घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा ओरालो लागेको छ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले ट्रम्पले वार्तालाई ‘केही ठाउँ’ दिन चाहेको बताउँदै अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहे पनि तत्काल थप आक्रमण नगर्ने नीति अपनाइएको जानकारी दिए।

इरानले पनि अमेरिकाले दुई रातदेखि हवाई आक्रमण नगरेकाले आफ्नो प्रतिशोधात्मक कारबाही रोकेको जनाएको छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकी आक्रमण दुई रातअघि रोकिएको र इरानको रणनीति प्रतिशोधमा आधारित भएकाले आफूहरूले पनि सैन्य प्रतिक्रिया स्थगन गरिएको बताए।

यसअघि अमेरिकी सेनाले लगातार १३ रातसम्म इरानमाथि आक्रमण गरेको थियो। अप्रिलमा भएको युद्धविरामपछि यो द्वन्द्वको सबैभन्दा तीव्र चरण मानिएको थियो। पछिल्ला दुई रात भने दुवै पक्षबाट प्रत्यक्ष आक्रमण नभएपछि तनाव केही कम भएको देखिएको छ। तनाव घटेसँगै सोमबार एसियाली बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ।

अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको मूल्य करिब ५.९ प्रतिशत घटेर प्रतिब्यारेल ९१.०८ अमेरिकी डलरमा झरेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट (डब्ल्यूटीआई) ५.७३ प्रतिशतले घटेर ८४.१९ अमेरिकी डलरमा कारोबार भएको छ।

हर्मुज जलघाँटीबाट सुरु भएको द्वन्द्व पछि अमेरिकी सैन्य अड्डा, क्षेत्रीय जलमार्ग र खाडी राष्ट्रसम्म फैलिएको थियो। आइतबार एउटा तेल ट्यांकर समुद्री सुरुङ विस्फोटबाट क्षतिग्रस्त भएको अपुष्ट इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

Logo