इन्फान्टिनोको आरोप : आलोचना गर्नेले घृणा फैलाए

इन्फान्टिनोको आरोप : आलोचना गर्नेले घृणा फैलाए

केन्द्रबिन्दु
9
Shares

जुरिच । विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप २०२६ को आलोचना गर्नेप्रति कडा प्रहार गर्दै उनीहरूले झूटो अफवाहसँगै घृणा फैलाएको आरोप लगाएका छन्। उनले प्रतियोगिता सफल रहेको दाबी गर्दै यो एकता, सुरक्षा र समावेशिताको उत्सवमा परिणत भएको पनि बताए।

उनले फिफाको आधिकारिक सामाजिक सञ्जालमा सोमबार एक खुलापत्र लेखेका हुन्। यसक्रममा ५६ वर्षीय इन्फान्टिनोले विश्वका लाखौं प्रशंसकले अनुभव गरेको खुसी र भाइचारालाई आलोचकले बेवास्ता गरेको पनि आरोप लगाए।

यसपल्टको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको थियो। प्रतियोगिताको विजेता भने स्पेन रह्यो र उसले फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयको खेलमा हराएको थियो।

उनको भनाइ रहेको छ, ‘आलोचकले घृणा र आलोचना यति धेरै गरे कि यस क्रममा विश्वकपका सबै राम्रा पक्ष छुटे। कलम र कागजको मद्दतले, स्क्रिन पछाडि बसेर घृणा र झूटो अफवाह फैलाउने सबैलाई म भन्न चाहन्छु, फिफाले कडा मिहिनेत गरेर विश्वकै उत्कृष्ट प्रतियोगिता आयोजना गरेर देखाएको छ। पूरा प्रतियोगिताका क्रममा कुनै हिंसा र अप्रिय घटना भएन।’

उनको निचोड थियो, विश्वकपले शतप्रतिशत सुरक्षा र केवल खुसी र आनन्द मात्र दिएको छ। विश्वकपका क्रममा फिफाले अनेक विषयमा आलोचना सहनुपरेको थियो । यसमा अमेरिकाले लागू गरेको कडा भिसा नीति र अमेरिकाविरुद्ध द्वन्द्वमा रहेका देशप्रति गरिएको व्यवहार थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकै हस्तक्षेपपछि फोलारिन बालागेनको रातो कार्डको एक खेल प्रतिबन्ध कायम रहेको थिएन।

बोस्निया एन्ड हर्जगोभिनाविरुद्धको खेलमा रातो कार्ड खाएपछि हुने एक खेलको निलम्बन स्वतः कसरी हट्यो भनेर ठूलो विवाद भएको थियो। यस्तै अर्जेन्टिना र इजिप्टबीचको खेलमा रेफ्रीको निर्णय एकपक्षीय भयो भनेर पनि व्यापक आलोचना भएको थियो। तर इन्फान्टिनोले यी घटनाबारे केही पनि बोलेका छैनन्। तर उनले यी घटनालाई विश्वभरिका प्रतियोगितामा सामान्य मानिने भने बताए।

उनको तर्क थियो, ‘यस्तो घटना विश्वकपका केही ठूला लिगमा नियमित र व्यापक हुने गरेका छन्। सम्भावित रूपमा गलत निर्णयबीच दिइएका रातो र पहेंलो कार्डपछि प्रतिबन्ध फुकुवा हुने निर्णय गरेका नै छन्। यस्तै अभ्यास अपनाउने देशले पनि यसको आलोचना गर्छ भने त्यसमा आश्चर्य मान्नुपर्छ। त्यसैले यसबारे पनि धेरै आलोचना ठीक छैन।’

राजनीतिक तनाव, घरेलु हिंसा र स्वास्थ्य चुनौतीबीच केही देशको सहभागिताले उल्टै एकताको सन्देश गएको पनि उनको दाबी थियो। इन्फान्टिनोको भनाइ थियो, ‘इरानले बिनाकुनै घटना र द्वन्द्वबीच अमेरिकामा प्रवेश पाएकै हो। इरानले किन यस्तो अवसर पायो भन्दा फुटबल शान्तिका लागि हो, यो राजनीति गर्नेका लागि होइन, यो पनि प्रस्ट छ।’रोयटर्स

Logo