काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी एकदिवसीय सिरिजमा नेपालको निराशाजनक प्रदर्शन कायमै छ। घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासहितको सिरिजमा नेपालले हारमा ह्याट्रिक गरिसकेको हो।
सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भयो। २ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रनमै सीमित रह्यो।

अन्तिम बलमा जितका लागि छक्का आवश्यक रहे पनि गुल्सन झाले नामिबियाका कप्तान गेर्हार्ड इरास्मसको बलमा एक रन मात्र जोडेपछि नेपाल जितबाट वञ्चित भयो।
छैटौँमा झर्यो नेपाल
यस नतिजापछि नेपाल अंक तालिकामा एक स्थान तल झर्दै छैटौँ नम्बरमा पुगेको छ। ३१ म्याच खेलिसकेको नेपालसँग हाल २४ अंक मात्र रहेको छ।
नेपाललाई उछिन्दै नामिबिया भने २६ अंकसहित ताकिलाको पाँचौं स्थानमा उक्लिएको छ।
शीर्ष चारमा पुग्न चमत्कारको आवश्यकता
नेपालले शीर्ष चारमा स्थान चमत्कार नै हुनुपर्ने समीकरण बनेको छ। यदि यो स्थान हासिल गर्ने हो नेपालले बाँकी ५ खेलमा जित निकाल्नुपर्नेछ। साथै नेपालले ओमान, नामिबिया र क्यानडाको हारको कामना गर्नुपर्ने छ।

नेपालले अब बाँकी ५ खेलमा जित निकाल्न सके पनि कुल ३४ अंक मात्र जोड्नेछ, जबकि अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्सँग ताजा स्थितिमै ३६ भन्दा बढी अंक छ।
नेपालको नजरबाट हेर्दा अब शीर्ष चारमा पर्न एउटा स्थान मात्र खाली छ।
उपलब्धि रक्षा गर्न वञ्चित!
अहिलेको अवस्था हेर्दा नेपालले गत संस्करणको उपलब्धि रक्षा नगर्ने देखिएको छ। नेपालले पहिलो संस्करणको लिग–२ मा तेस्रो स्थान हासिल गरेको थियो, जहाँ नेपालले ३६ म्याचमध्ये १९ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँड्यो।
उक्त संस्करणमा नेपालले अन्तिमतिर चामत्कारिक पुनरागमन गर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पायो। तर, यसपालि भने नेपालले न सुरुवातमा राम्रो गर्न सक्यो नत प्रतियोगिताको अन्तिमतिर नै लय समात्न सकेको छ।

जारी श्रृंखलामा नेपालको ब्याटिङ पक्ष निकै कमजोर देखिएको छ। कप्तान रोहितकुमार पौडेल पनि ब्याटिङ अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्छन्।
‘यो पूरै भ्रमणमा हाम्रो ब्याटिङ सोचेजस्तो हुन सकेको छैन। आशा छ अन्तिम खेलमा हामी यसमा सुधार गर्नेछौँ। पिचमा बल बाउन्स भइरहेकाले हामीले विकेटको दायाँ–बायाँ सटहरू बढी खेल्न जरुरी छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले डट बलको संख्या घटाउनै पर्छ,’ सोमबार नामिबियासँगको खेलपछि रोहितले भनेका छन्।
त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टोली नेदरल्याण्ड्सको सामना गर्दैछ।




















