काठमाडाैं । भारतीय क्रिकेटका उदीयमान युवा ब्याटर वैभव सूर्यवंशीले आफ्नो छोटो र अद्भूत खेल जीवनमा एकपछि अर्को गर्दै ऐतिहासिक कीर्तिमानहरूको ओइरो नै लगाएका छन्।
१४ वर्षको उमेरमा पहिलो श्रेणीको घरेलु क्रिकेटमा डेब्यू गरेका सूर्यवंशीले त्यसको एक वर्षभित्रै भारतीय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेक्दै घरेलु, आईपिएल र अन्तर्राष्ट्रिय मञ्चमा उमेर तथा द्रुत गतिमा रन बनाउने कैयौँ विश्वकीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
सूर्यवंशीले आफ्नो चौथो टी-२० खेलमै राजस्थान रोयल्सका तर्फबाट गुजरात टाइटन्सविरुद्ध मात्र १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गर्दै टी-२० क्रिकेट र आईपिएल इतिहासमै सबैभन्दा कान्छा अर्धशतक तथा शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए। घरेलु ५० ओभरको लिस्ट ‘ए’ क्रिकेटमा पनि उनले विजय हजारे ट्रफीमा बिहारका तर्फबाट ८४ बलमा १९० रनको विष्फोटक पारी खेल्दै १४ वर्ष २७२ दिनको उमेरमा सबैभन्दा कान्छो शतककर्ता बन्ने गौरव हासिल गरे। उक्त खेलमा उनले ३६ बलमा शतक र ५९ बलमा १५० रन पूरा गर्दै पुरुष लिस्ट ‘ए’ क्रिकेटको सर्वाधिक द्रुत १५० रनको कीर्तिमान समेत बनाएका थिए।
यसका साथै, भारत ‘ए’ बाट खेल्दै उनले श्रीलंका ‘ए’ विरुद्ध मात्र ११ बलमा ५० रन पूरा गरी २१ वर्ष पुरानो सबैभन्दा छिटो लिस्ट ‘ए’ अर्धशतकको कीर्तिमान तोडेका थिए। छक्का प्रहार गर्न माहिर मानिने सूर्यवंशी टी-२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने ब्याटर पनि हुन्। उनले मात्र २९ इनिङ्स र ५१४ बल सामना गर्दै यो कोशेढुङ्गा पार गरेका थिए।
आईपिएल २०२६ मा राजस्थान रोयल्सबाट खेल्दै उनले थप नयाँ उचाइ छोए । सनराइजर्स हैदराबादविरुद्ध ३७ बलमा १०३ रन बनाउने क्रममा उनी टी-२० क्रिकेटमा सबैभन्दा कम बल (४७३ बल) र सबैभन्दा कान्छो उमेरमा १,००० रन पूरा गर्ने खेलाडी बने। त्यसको केही खेलपछि गुजरात टाइटन्सविरुद्ध ९६ रन बनाउँदै उनले आन्द्रे रसेलको कीर्तिमान तोडेर मात्र ४४० बलमा आईपिएल इतिहासको सबैभन्दा छिटो १,००० रन पूरा गरे।
सोही सिजनमा ३२७ बल सामना गर्दै ७२ वटा छक्का प्रहार गरी उनले क्रिस गेलको एउटै टी-२० प्रतियोगितामा सर्वाधिक छक्का हान्ने कीर्तिमान तोड्दै ७७६ रनका साथ ‘ओरेन्ज क्याप’ समेत जिते।
अन्तर्राष्ट्रिय मञ्चमा डेब्यू गरेपछि पनि उनी रोकिएका छैनन्। जिम्बाब्वेविरुद्धको श्रृंखलामा १८ बलमै ५० रन बनाउँदै उनी पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। सोही श्रृंखलाको तेस्रो टी-२० मा ८१ रनको उत्कृष्ट पारी खेलेर १५ वर्ष १२१ दिनको उमेरमा ‘प्लेयर अफ द म्याच’ र ३ खेलमा १५१ रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा कान्छो ‘प्लेयर अफ द सिरिज’ बन्ने अद्भूत सफलता हात पारेका छन्।




















