काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी तथा तीव्र गतिका बलर करण केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको संक्षिप्त सन्देश “थ्यांक यू”ले क्रिकेट समर्थकमाझ विभिन्न अड्कलबाजी सिर्जना गरेको छ।
नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत गएराति नामिबियाविरुद्धको खेलमा करणले १० ओभरमा २ मेडनसहित जम्मा २९ रन खर्चेर ५ विकेट लिँदै नामिबियाली ब्याटिङ लाइनअपलाई निकै दबाबमा राखेका थिए। तर, टोलीको कमजोर ब्याटिङका कारण नेपाल पराजित हुन पुग्यो।
आफ्नो उत्कृष्ट व्यक्तिगत प्रदर्शनका बाबजुद टोलीलाई जित दिलाउन नसकेको खिन्नताका बीच उनले सो धन्यवाद सन्देश लेखेका हुन्। तर उनकाे याे सन्देशलाई कतिपयले सन्यासकाे संकेतसँग जाेडेर पनि हेरेका छन् भने कतिले खेल हारिसकेपछि प्राप्त भावनात्मक समर्थनका लागि कृतज्ञता व्यक्त गर्नु खेलाडीहरूको सामान्य शैली भएकाे बताएका छन्।
सोमबार नामिबियाविरुद्ध २ विकेट लिएपछि करणले आफ्नो एक सय विकेट पुर्याएका थिए । तर उनी त्यतिमै सीमित भएनन् । उनले २९ रन खर्चेर ५ विकेट लिएका थिए । यो करणको एकदिवसीय अन्तर्राष्ट्रियमै अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । करणले चौथो पटक एकदिवसीय अन्तर्राष्ट्रियको एक इनिङ्समा ५ विकेट लिएका हुन् । करण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेटको आँकडा छुने नेपालका पहिलो तीव्र बलर र समग्रमा दोस्रो नेपाली खेलाडी हुन् ।
सन् २०१८ मा नामिबियाविरुद्ध नै नवौँ नम्बरमा ब्याटिङ गर्दै ४२ रनको अविजित ऐतिहासिक इनिङ्स खेलेर नेपाललाई एकदिवसीय मान्यता दिलाउन मुख्य भूमिका खेलेका करण नेपाली क्रिकेटका “फल्क हिरो” हुन्। एकदिवसीय र टी-२० दुवै प्रारूपमा नेपालका लागि सर्वाधिक पटक ५ विकेट लिने कीर्तिमान बनाएका ३३ वर्षीय करण अझै पनि टोलीका मुख्य पेस बलरका रूपमा सक्रिय छन्।




















