बलिउड स्टार टाइगर अब फुटबल मैदानमा, डुरान्ड कप खेल्ने

बलिउड स्टार टाइगर अब फुटबल मैदानमा, डुरान्ड कप खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलिउड स्टार टाइगर श्रफ अब फुटबल मैदानमा देखिने भएका छन् ।

फिल्मको पर्दामा एक्सन अवतारमा देखिने ३६ वर्षीय अभिनेताले यसपटक भने व्यावसायिक फुटबल मैदानमा आफ्नो खेल कौशल देखाउन भारतको ऐतिहासिक फुटबल प्रतियोगिता डुरान्ड कप २०२६ का लागि मुम्बई एफसीको टोलीमा समावेश भएका हुन्।

मुम्बई एफसीका प्राविधिक निर्देशक जोहेब खानका अनुसार, सन् २०२४ मा स्थापना भएको क्लबसँग जोडिएका टाइगरले पछिल्लो समय नियमित रूपमा टोलीसँगै प्रशिक्षण गरिरहेका छन्। सन् २०२३ को एक इन्फ्लुएन्सर लिगका क्रममा टाइगरको प्राविधिक फुटबल क्षमताबाट प्रभावित भएपछि क्लबले उनलाई अभ्यासमा बोलाएको थियो। ड्रिब्लिङ र वान-अन-वान मुभमा रुचि राख्ने टाइगर स्वयंले व्यावसायिक खेल खेल्ने इच्छा देखाएपछि उनलाई १३५औँ संस्करणको डुरान्ड कपका लागि दर्ता गरिएको हो।

अहिले क्लबले उनको खेल यात्रा र व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ। सेलिब्रेटीको उपस्थितिका कारण दर्शकतर्फबाट हुनसक्ने भीडभाड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै क्लबले सुरक्षा प्रबन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। यदि सबै तयारी र सुरक्षा प्रबन्ध मिलाउन सकिएमा उनलाई समूह चरणको कम्तीमा एक खेलमा मैदान उतार्ने क्लबको योजना छ।

मुम्बई एफसी डुरान्ड कपको समूह ‘इ’ मा परेको छ, जहाँ अन्य टोलीहरू सिलोङ लाजोङ एफसी, लाङस्निङ एफसी र सोङक्सेह एसएस एन्ड सीसी रहेका छन्। प्रतियोगिताका सबै खेलहरू मेघालयको सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा हुनेछन्। मुम्बई एफसीले अगस्ट ३ मा लाङस्निङ एफसीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने अगस्ट ८ मा सिलोङ लाजोङ र अगस्ट ११ मा सोङक्सेहसँग प्रतिस्पर्धा गर्नेछ।

सन् १८८८ मा शिमलाबाट सुरु भएको डुरान्ड कप एसियाको सबैभन्दा पुरानो र विश्वको तेस्रो पुरानो फुटबल प्रतियोगिता हो।

Logo