काठमाडौँ, २२, कात्तिक
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिना भित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिन भित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुस भित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ । दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थ्रु हुन्छ,’ उनले भने ।
यसैविच मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुने बताइएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपिआर पास भए लगत्तै लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य अघि बढ्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक देवकोटाको भनाइ छ । सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ । त्यस मध्ये २६.५८४ किमि सुरुङ खनिसकिएको छ । हाल सम्म ९६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया