जनकपुरधाम,७, कार्तिक
प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरु हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिनको विधिमा अरवा–अरवाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास रहेको छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानव मात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगब्याधिबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ ।
रात्रिको अन्धकारबाट भयभित भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना र पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए । वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो । छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ । सूर्यको उपयोगिता र कृषि संस्कृतिको अपरिहार्यता भएको हुनाले सूर्यप्रति कृतज्ञताको अभिव्यक्ति पनि छठ पर्वले दिन्छ । यसका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता बोध हुन्छ । रासस





























प्रतिक्रिया