केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३१ असोज ।
रु. ४१ लाख ठगी गरेर एक बर्षदेखि फरार रहेका २ ब्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतको मिति २०७३-७-२२ गतेको फैसलाले उनीहरु ठगी गरेको भनी प्रमाणित हुँदा पनि उनीहरु फरार थिए ।
उक्त २ जना ब्यक्ति सहित ३ जनाले वैदेशिक रोजगारको लागि इजरायल, मकाउ र कोरिया लगायतको देशमा आकर्षक तलब सुबिधा पाउने गरि पठाई दिन्छु भन्दै विभिन्न ३२ जनाबाट ४१ लाख रकम र सक्कल राहदानी लिई सम्पर्क बिहिन भएपछि पीडितहरुले उजुरी अदालतमा उजुरी दिएका थिए ।
पक्राउ पर्नेमा नुवाकोट वुङताङ गाउँविकास समिति वडा नं. ७ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध बस्ने ३९ बर्षीय भाग्यमान तामाङ र गोर्खा मान्वो गाउँ विकास वडा नं. ९ घर भै हाल काठमाडौँ टोखा नगरपालिका वडा.नं. ९ बस्ने ४१ बर्षीय महेन्द्र गुरुङ रहेका छन् ।
उनीहरुलाई अदालतले जनही २ बर्ष कैद र ८ लाख १७ हजार ९ सय ३३ रुपैया ३३ पैसा जरीवाना हुने गरी फैसला गरेको थियो ।
उनीहरुलाई काठमाडौंको धर्मस्थली र टोखाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेर अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) प्रहरी उपरिक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए ।































प्रतिक्रिया