केन्द्रबिन्दु संवाददाता । कास्की, ३० असोज ।
पर्यटकीय नगरी कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका छवटा प्याराग्लाइडिङ तीव्र गतिको हावाका कारण अनियन्त्रित भर्इ फेवातालमा खसेका छन् ।
५ पाइलट र ६ यात्रुसहित उडेका प्याराग्लाइडिङ तीव्र हावाहुरीका कारण फेवातालमा खसेका हुन् । सबै यात्रु र पाइलटलाई भने सकुशल उद्दार गरिएको छ ।
पाँचवटा टेण्डम फ्लाइट र एउटा सोलो फ्लाइटको प्याराग्लाइडर फेवातालमा खसेको समाचार स्रोतले जनाएको छ ।
दिउँसो करिव १ बजे सराङकोटबाट उडेको केही समयपछि नै तीव्र गतिको हावा हुरीका कारण प्याराग्लाइडिङ अत्यन्तै कठिन हुन पुगेको थियो ।
पाइलटको सही निर्णयले यात्रुलाई फेवातालमा सुरक्षित अवतरण गराइएको नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपाल गुरुङले जानकारी दिए ।
‘प्याराग्लाइडर सिधै खसेका होइनन्, हावाको चाप अनुसार विस्तारै सुरक्षित रुपमा तालमा झारिएको हो,’ गुरुङले भने ।
प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धारकर्मीहरूले डुंगाको सहायताले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति हुन पाएन । एयर स्पोर्टस एशोसियसन, जलारी समूह लगायतको डुंगाले यात्रु र पाइलटको उद्धार गरेका थिए ।































प्रतिक्रिया