भारतीयविरुद्ध सीमारक्षक बनेका देवनारायण यादव एमालेमा प्रवेश

भारतीयविरुद्ध सीमारक्षक बनेका देवनारायण यादव एमालेमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ असोज ।

भारतमा पक्राउ परेर केही समयपहिले निकै चर्चामा आएका देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने समूहको नेतृत्व गरेर चर्चामा आएका थिए ।

देवनारायण बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गरेका हुन् । उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएका थिए ।

उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल(भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए ।

त्यसपछि राष्ट्रिय चर्चामा आएका यादवलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका उनलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, साधारण तारेखमा उनी छुटेका छन् ।

कांग्रेसबाट ०५४ मा क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

उनले एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएकाले पार्टी प्रवेश गरेको बताए । उनलाई एमालेले आसन्न निर्वाचनमा उम्मेदवार बनाउने भएको छ ।

यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी पनि आज एमालेमा एकीकृत भएको छ ।

Logo